२०८१ पौष ७, आइतवार , ०२:१४:१६ बजे

Sajhamanch
'

पत्रकारलाई कुटपिट गरेको आरोपमा ४ जना पक्राउ

आइतवार, साउन १३, २०८१

पोखरा। पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा आइतबार पोखरामा ४ जना पक्राउ परेका छन् ।

राइड सेयरिङ विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा सञ्चारकर्मी सुरज थापालाई कुटपिट गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराका विभिन्न स्थानमा बस्ने ४ जनालाई कास्की प्रहरीले पत्रकार तथा सञ्चारकर्मीमाथि हातपात गरेको आरोपमा पक्राउ गरेको हो । उक्त घटनामा संलग्न भएका केही आन्दोलनकारीले सुरजको स्कुटर समेत तोडफोड गरेका थिए ।

घटनाको विषयमा नेपाल पत्रकार महासङ्घ कास्कीले घोर निन्दा र भर्त्सना गरेको छ । पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै गरिएको दुर्व्यवहार र कुटपिट प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको नेपाल पत्रकार महासङ्घ कास्कीले ठहर रहेको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीका साधारण सदस्य तथा पोखरा टेलिभिजनका संवाददाता विनाकुमारी थापा ’बिनु’ र सञ्चारकर्मी सुरज थापालाई आज साउन १३ गते पोखराको पृथ्वी चोकमा भएको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासङ्घ कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासनसँग नेपाल पत्रकार महासङ्घ कास्की जोडदार माग गरिएको सचिव माधव बरालले बताए ।

आइतवार, साउन १३, २०८१ | अपराध, समाज