२०८१ पौष १७, बुधवार , ०१:२१:४३ बजे

Sajhamanch
'

सुन भन्दै नक्कली धातु बेच्न खोज्ने विश्वकर्मा र लिम्बू प्रहरी फन्दामा

शनिवार, साउन १२, २०८१

शिवसताक्षी । सुन भनेर नक्कली धातु बेच्न लागेका पदमबहादुर विश्वकर्मा र राम लिम्बू शिवसताक्षीबाट पक्राउ परेका छन् ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–४ घर भई झापा अर्जुनधारा–११ को पुतलीझोडा बस्ने माईला कामी भनिने ४२ वर्षीय विश्वकर्मा र ताप्लेजुङ मैवाखा गाउँपालिका– ६ सामतोङका ४१ वर्षीय लिम्बू पक्राउ परेका हुन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी–९ मिलन चोकबाट उत्तरपट्टिको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा शुक्रबार दिउँसो साढे ४ बजे उनीहरुले सुन जस्तै देखिने नक्कली धातु बेच्न लागेका थिए ।

प्रहरीका अनुसार उनीहरु सुनसरीको बराहक्षेत्र–५ कालाबन्जारस्थित पाथिभरा ज्वेलर्सका सञ्चालक मानबहादुर विकलाई बिलबिजक बेगरको गाली राखेको करिब ७०० ग्राम नक्कली धातु बेच्ने तरखरमा थिए ।

सोही सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकी नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसपछि जाँच गर्दा लिम्बूको झोलाभित्र सेतो कपास र रातो कपडाले बेरेको, बाहिरी भाग कालो भएको, बीच भागमा काटिएको सुनजस्तै देखिने पहेँलो वस्तुको लेपन लगाएको १ केजी १९० ग्राम तौलको धातु, फलामको बीँड बिनाको १ थान मार्तोल र विभिन्न सुनचाँदी पसलका बिल र भिजिटिङ कार्डहरु फेला परेको थियो ।

नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा लिम्बूले अर्का साथी पदमबहादुर विश्वकर्मा फरार भएका प्रहरीलाई बताएका थिए । खोजी गर्ने क्रममा राति साढे ९ बजे अर्जुनधारा–११ पुतलीझोडामा भाग्दै गर्दा विश्वकर्मा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेले दुवै जनालाई झापा जिल्ला अदालतमा उपस्थित गराएर ठगी कसुर मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका लिम्बूले यसअघि कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरेको खुलेको छ ।

सम्बन्धित खबर