२०८१ भदौ २३, आइतवार , ०४:३८:५१ बजे

Sajhamanch
'

काँकरभिट्टाबाट चार अर्ब रुपैयाँको तरकारी आयात

शुक्रवार, साउन ११, २०८१

झापा। आर्थिक वर्ष २०८०/८१ मा काँकरभिट्टा नाका भएर ४ अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्यबराबरको २ लाख २८ हजार ११९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ ।

जसमध्ये १ अर्ब २ करोड २२ लाख ६० हजार मूल्यबराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार सोही अवधिमा ५७ करोड ५३ लाख ८० हजार मूल्यबराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, ३० करोड ७ लाख ८० हजार मूल्यबराबरको १५ हजार ३९ मेट्रिक टन भिन्डी, २९ करोड ५७ लाख ४० हजार मूल्यबराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खुर्सानी आयात भएको छ ।

त्यस्तै, २९ करोड ३२ लाख ४० हजार मूल्यबराबरको १४ हजार ६६२ मेट्रिक टन स्कुस, २१ करोड १४ लाख ८० हजार मूल्यबराबरको १० हजार ५७४ मेट्रिक टन फर्सी र १५ करोड ६७ लाख २० हजार मूल्यबराबरको सात हजार ८३६ मेट्रिक टन बोडी भारतबाट आयात भएको छ ।

तरकारी जस्तै फलफूलमा पनि भारतीय निर्भरता अत्यधिक छ । गत आर्थिक वर्ष २०८०/ ८१ मा काँकरभिट्टा नाका भएर ४ अर्ब ८७ करोड ६५ लाख १८ हजार मूल्यबराबरको ९८ हजार ३९४ मेट्रिक टन ताजा फलफूल भारतबाट आयात भएको छ ।

२ अर्ब ७७ करोड ३५ लाख ३६ हजार मूल्यबराबरको १ लाख १५ हजार ५६४ मेट्रिक टन आलु भारतबाट आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा ९९ करोड ७८ लाख ४० हजार मूल्यबराबरको २४ हजार ९४६ मेट्रिक टन भुइँकटहर, ४२ करोड १५ लाख मूल्यबराबरको लसुन, ४५ करोड १६ लाख ८ हजार मूल्यबराबरको तरबुजा र ३३ करोड ५२ लाख मूल्यबराबरको ड्रागन फ्रुट भारतबाट भित्रिएको छ ।