२०८१ कार्तिक २, शुक्रवार , ०७:५२:४३ बजे

Sajhamanch
'

कमल खोलामा बाँसको पाइलिङ, पानीलाई पुरानै धारमा फर्काइयो

बिहिवार, साउन १०, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको कमल खोलामा बाँसको पाइलिङ निर्माण गरिएको छ ।

कमल खोलाले धार परिर्वतन गरी वडा नं. ३ पाराबारीको पश्चिमको कटान सुरु गरेपछि नगरपालिकाले अल्पकालीनका लागि बोरा र बाँसको पाइलिङ लगाएर तटबन्धन गरेको हो ।

नगरपालिकाले १ सय मिटर पाइलिङ गरी खोलाको धार पुरानैतर्फ फर्काएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

गएको असारको पहिलो सातामा परेको अविरल वर्षातका कारण खोलाले धार परिर्वतन गर्दा करिब ५० बिघा धान खेत बगरमा परिणत गरेपछि नगरपालिकाले पानीको बहाव कम भएपछि बाँसको पाइलिङ लगाएर कटान रोकथामका लागि जुटेको थियो ।

नगरले वर्षातको समयमा आएको भेललाई रोक्न सधैंभन्दा फरक तरिकाले काम गरेको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए ।

“खोलामा पानीको बहाव बढेपछि बाँसको पाइलिङको मात्र भर नहुने हुँदा पाइलिङसँगै बोरामा बालुवा भरेर समेत लगाइएको छ” उनले भने, “पाइलिङ, बोरा र बाटो लगाएर बाँध कसिएकाले अब आउने भेललाई रोक्ने गरी काम गरेका छौं ।”

उक्त स्थानमा दीर्घकालीन तटबन्धन निर्माणका लागि ठूलो बजेटको व्यवस्था गर्नुपर्ने र नगरको आन्तरिक स्रोत कमजोर हुँदा तत्कालका लागि बाँसको पाइलिङ र बोरा लगाइएको नगरप्रमुख थोप्राले बताए ।

नगरपालिकाले पहिलो चरणमा बालुवाको मात्र च्यानल बनाएर पानीलाई पुरानै धारतर्फ फर्काउने योजना भएको तर, त्यसले पूर्णरुपमा पानीको बहाव नथाम्ने भएकाले बाँस र बोरामा माटो भरेर लगाएर पानीलाई च्यानालाइज गरिएको नगरका इन्जिनियर कृष्ण राईले बताए ।

खोलाको किनार धेरै पर रहेकाले बोरा र पाइलिङको सर्पोटका लागि बालुवा थुपारेर कृत्रिम किनार बनाइएको जुन १२ फिट चौडाको रहेको इन्जिनियर राईको भनाई छ ।

शिवसताक्षी नगरपालिकाले उक्त पाइलिङ तटबन्धनसहितको विपद व्यवस्थापन कोषबाट ३ लाखको लागतमा निर्माण गरेको जनाएको छ ।

कमल खोलाको धार पुरानै अवस्थामा फर्काएपछि खोलाले यसवर्ष धानखेत कटान रोकिने अपेक्षा गरिएको स्थानीय मेघराज ओझाले बताए ।

कमल खोलाले वर्षेनी यहाँका नागरिकलाई दुःख दिँदै आएको र सयौं बिघा जग्गामा लगाइएको बाली बालुवामा बगाउँदै आएको थियो ।

यसवर्ष वर्षात पनि खोलाले असारमै धार परिर्वतन गरी पाराबारी पश्चिम क्षेत्र डुबानमा परेको उनले जानकारी दिए । शिवसताक्षी नगरपालिकाको तत्काल बाँसको पाइलिङ र बोरा लगाई खोलालाई पुरानै अवस्थामा फर्काएको छ ।

“नगरप्रमुखले दिनहुँ निरीक्षण गरी काम गर्नुभएको हामीले देखेका छौं” उनले भने, “उहाँलाई हामी वडावासीको तर्फबाट धन्यवाद दिन चाहन्छौं ।”

उनले आगामी दिनमा दीर्घकालीन कटान नियन्त्रणका लागि तटबन्धन निर्माणका लागि वडावासीले माग समेत गरेको जानकारी दिए ।

सम्बन्धित खबर