
काठमाडौं । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।
अस्पतालले शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट देखिएको बताएको छ । साथै, ढाडको एउटा हड्डीसँगै देब्रे पट्टिको ३ वटा करङ्ग भाँचिएको अस्पतालले जनाएको छ ।
उनको अनुहार, नाक र आँखाका चोटहरुको उपचार भइसकेको अस्पतालले जानकारी गराएको छ ।