२०८१ पौष २४, बुधवार , ११:५८:५४ बजे

Sajhamanch
'

फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, प्रथमपत्रको अंक नजोडिने

बिहिवार, साउन १०, २०८१

काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।

शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।

लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागू हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षमा सहभागी हुन ४५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

पहिलो चरणको परीक्षामा १०० अंकको वस्तुगत प्रश्न सोधिन्छ । सो परीक्षामा अब न्यूनतम ४५ अंक नल्याएकाहरुले दोस्रो चरणको परीक्षामा सामेल नै हुन पाउने छैनन् ।

यसैगरी अब पहिलो पत्रमा प्राप्त भएको कूल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था पनि हटेको छ ।

अर्थात् अब प्रथम पत्रको परीक्षा ‘छनोट परीक्षा’का रुपमा मात्रै रहनेछ । दोस्रो पत्रमा पहिलो पत्र आएका आएको कूल अंकको आधा अंक जोडिने व्यवस्था हटेको हो ।

लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई प्राप्तांकलाई मूल परीक्षाको अंकमा समावेश नगर्ने व्यवस्था गरिएको हो ।

प्रारम्भिक परीक्षाको उत्तीर्णांक पूर्णांकको ४५ प्रतिशत अर्थात् ४५ अंक हुने व्यवस्था भएसँगै अब दुवै परीक्षा फरकफरक अस्तित्वमा रहनेछन् ।

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमागाइँले तीन पदमा सुरुमा स्क्रिनिङ टेस्टको पाठ्य योजनामा परिवर्तन गरिएको बताइन् ।

उनका अनुसार एउटा परीक्षाको नतिजालाई अर्को परीक्षाको नतिजासँग जोड्नु सान्दर्भिक नभएकाले एउटा परीक्षाले अर्को परीक्षालाई प्रभाव नपारोस् भन्ने उद्देश्य राखेर यस्तो व्यवस्था गरिएको हो ।

सम्बन्धित खबर