
काठमाडौं । पछिल्लो तीन महिनामा नेपाल प्रहरीका २९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा विभिन्न तहका २९ जना कर्मचारी आफूखुसी गैरहाजिर भएका र सम्पर्कमा नआएका हुन् । गैरहाजिर हुनेहरूमा कार्यालय सहयोगीदेखि नायव निरीक्षक (सई) सम्मका कर्मचारी रहेका प्रधान कार्यालयले जनाएको छ ।
उनीहरू २०८० चैत तथा २०८१ वैशाख र जेठदेखि सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन भएपछि पहिलोपटक सूचना टाँस हुँदा पनि हाजिर नभएपछि प्रधान कार्यालयले पुन स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको हो ।
सात दिनभित्र उपस्थित नभए सेवाबाटै हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ ।