
मेचीनगर । ‘हाम्रो घर, आँगन, बाटो, किचन, बाथरुम र मन सफा राखौं’ भन्ने ‘थिम’मा सञ्चालित मेचीनगर वडा नं. ६ स्थित मिलनचोक टोल विकास संस्थाको १५औं वार्षिक साधारणसभा आज शनिबार बिहान सम्पन्न गरिएको छ ।
टोल विकास संस्थाका सबै उपस्थित सदस्यहरुको अध्यक्षतामा वडा नं. ६ का सदस्य ध्रुबकुमार राईको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो ।
साधारणसभामा टोल विकास संस्थाका अध्यक्ष नरेन्द्रप्रकाश सिटौलाले नीति तथा कार्यक्रमसहितको प्रतिवेदन तथा कोषाध्यक्ष साबित्रा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाले अब उप्रान्त जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, बसाइँसराई, नागरिकता, जग्गा किनबेच, चौहदी प्रमाणितजस्ता कागजात बनाउने सिफारिस गर्दा टोल विकास संस्थाको सदस्यतालाई अनिवार्य गर्ने निर्णय गरेको छ । वडा कार्यालयले पनि टोल विकास संस्थाको सिफारिस लिएर मात्र यस्ता काम गर्ने भनी पत्राचार गरिसकेकोले सदस्यतालाई अनिवार्य गर्ने निर्णय भएको हो ।
वडाकोमात्र नभई मेचीनगरको नै नमूना टोलका रुपमा पहिचान बनाएको सो संस्थाले टोलबासीबाट बचत संकलन गरी आपसमा नै न्यून ब्याजदरमा लगानी गर्ने तथा सदस्य परिवारलाई राहत दिने नीति बनाएको छ ।
सोहीअनुसार विपन्न तथा बिरामी उपचार सहयोग वापत दुवै मिर्गौला फेलभई उपचाररत रामबहादुर श्रेष्ठलाई पाँच हजार रुपैयाँ प्रदान गरियो । यस्तै, अर्का टोलबासी बमबहादुर तामाङ गम्भीर बिरामी भई उपचारकै क्रममा रहेर पनि टोलबाट लिएको ऋण सावाँ ब्याज समयमा नै बुझाएकोमा प्रसंशास्वरुप एक हजार रुपैयाँ प्रदान गरियो । संस्थाका अध्यक्ष सिटौला तथा अतिथिहरुले उक्त रकम निजका पत्नीहरुलाई हस्तान्तरण गरेका हुन् ।
साधारणसभामा कोषाध्यक्ष साबित्रा अधिकारीले २७ लाख ३८ हजार ५०४ रुपैयाँको आय ब्यय विवरण प्रस्तुत गरिन् । उनले संस्थामा ठूलो रकम जम्मा भएकाले ऋणि सदस्यहरुबाट पनि फिर्ता लिएर बचतकर्ताको सबै रकम फिर्ता गर्ने र चालू आर्थिक वर्षबाट पुनः नयाँ बचत कारोबार थाल्ने नीतिगत प्रस्ताव गरिन् । उक्त प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको थियो ।
साधारणसभाका प्रमुख अतिथि वडा नं. ६ का सदस्य ध्रुबकुमार राईले टोलको प्रगतिका लागि टोलबासीले देखाएको सद्व्यहार तथा नेतृत्वको कार्यशैलीबाट वडामा मात्र नभई नगरक्षेत्रकै नमूना र उत्कृष्ट संस्था बनेकोमा खुसी ब्यक्त गरे ।
सो कार्यक्रममा अर्का वडा सदस्य भविन्द्र सुब्बाले वडामा आएर गुनासो गर्नेभन्दा टोलबाटै लिखितरुपमा प्रस्तावहरु ग्र्दा बैठकमा प्रस्तुत गरी कार्यान्वयन गर्न दवाब पुग्ने भएकाले टोल विकास संस्थालाई शीरमा राखेर काम गर्न टोलबासीलाई आग्रह गरे ।
संस्थाका सचिव विशाल तामाङले सञ्चालन गरेको सो कार्यक्रममा समाजसेवी बालकृष्ण थापा र गीता दाहालले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा उपस्थित सहभागीहरुलाई टोल विकास संस्थाका पार्वती खड्काले शाब्दिक स्वागत गरेकी थिइन् ।
भिडियो पनि छ ……..