२०८१ कार्तिक २, शुक्रवार , ०७:००:५४ बजे

Sajhamanch
'

संघर्षले खारिएका बहुप्रतिभाशाली केसाङ : बटुले कलासंस्कृतिदेखि साहित्यसम्मको अनुभव

शनिवार, साउन ५, २०८१

मेचीनगर । हरेक मान्छेसँग केही न केही ज्ञान, सीप र कला हुन्छ, केही पनि नजान्ने त कोही पनि हुँदैन, प्रयोगमा ल्याउनु/नल्याउनु भिन्दै कुरा हो भन्ने यदाकदा सुनिन्छ ।

पत्याउन मिल्ने झैं लाग्ने यो भनाईमा सहमत हुने हो भने व्यक्तिपिच्छे कुनै एउटा ज्ञान त हुने नै भयो । तर, अपवादका रुपमा बेलाबखत यस्ता व्यक्ति पनि भेटिन्छन्, जो असीमित कलाले भरिपूर्ण हुन्छन् । यही पंक्तिमा पर्नेमध्येका एक बहुप्रतिभाशाली व्यक्तित्व हुन्– केसाङ लामा ।

हाल पूर्वी सीमान्त शहर झापाको काँकरभिट्टा बसेर मूलतः चित्रकलाको साधनामा व्यस्त केसाङको चिनारी यतिमै मात्र टुंगिदैन । बालखैदेखि चित्र कोर्ने कसरत थालेका लामाले चित्रकलाकै जगमा उभिएर बहुआयामिक व्यक्तित्वको परिचय स्थापित गरेका छन् ।

सानो छँदै चित्र कोर्नमा रस भिजेका उनी त्यसप्रतिको एकोहोरो लगावकै कारण बिरलै भेटिने बहुप्रतिभावान् व्यक्तित्वको कोटीमा परेका हुन् । कलाकारिता र साहित्यका विविध विधामा अभ्यस्त रहँदै अनेक कलाले खारिएका लामा आफूलाई चित्रकार भनेर चिनाउन रुचाउँछन् ।

“चित्रकलामै बढी दख्खल भएर हो, ज्यूने आधार पनि यही हो” चित्रकलाको उपयोगी कलालाई मूल पेशा बनाएका उनले थपे, “यसैले यो ठाउँमा ल्यायो, कलाकारिता यात्राको सुरुवाती बिन्दू यही थियो ।”

बाल्यावस्थामै प्रस्फुटन भएर लागेको कलाका अनेक लत योबेला उनका लागि रहर, रुचि, सौख, पेशा सबै भएका छन् । मेचीनगरको नकलबन्दास्थित विद्यालयमा कक्षा ४ मा पढ्दै गर्दा चित्रकलाप्रति जागेको रहर लत हुँदै पछि पेशा बनेको लामा बताउँछन् ।

“स्कूल जाँदा र फर्किँदा बोली नआउने २ जना मान्छेले पातालगंगामा चित्र बनाइरहेको देख्थेँ” बाल्यकालको त्यो क्षण सम्झिँदै उनी भन्छन्, “त्यो देखेरै चित्र कोर्न प्रेरित भएँ ।”

“बुवा लामा धर्मगुरु हुनुहुन्थ्यो, माटोको तोरमाको बुद्धको मूर्ति बनाउनुहुन्थ्यो, म बुद्धको चित्र कोर्थेँ” केसाङले थपे, “बुवाले बनाएको हेर्दा हेर्दै बनाउन थालेँ, बुवाबाट पनि प्रेरणा पाएँ ।”

कक्षा ३ मा पढ्दा आफूले बनाएको बुद्धको चित्रले प्रथम पुरस्कार पाएको सम्झना झट्ट हेर्दा अढाई कोरी उमेर नाघेका झैं देखिने उनमा आलै छ ।

नकलबन्दामा मञ्चन गरिएको ‘बन्धन ममताको’ शीर्षकको नाटकमा बाल कलाकारको रुपमा पहिलोपटक अभिनय गरेपछि लामाको नाट्य यात्रा अघि बढेको हो । नकलबन्दा समाज कल्याणले २०४५ साल असोज २ गते मञ्चन गरेको उक्त नाटक आफैंले लेखेको केसाङ बताउँछन् ।

“निर्देशन चाहिं अर्कै एकजनाले गर्नुभएको थियो” उबेलाको सम्झना गर्दै उनी भन्छन्, “त्यहीँबाट नाटक लेखन, निर्देशन र अभिनयमा रुचि थपियो, आख्यानतर्फ झुकाव बढ्यो ।”

पछिल्लोपटक २०७९ सालमा काँकभिट्टामा ‘विस्थापन’ शीर्षकको नाटक मञ्चन गरेका लामाले हालसम्म आफ्ना २८ वटा नाटक प्रदर्शन भइसकेको बताए ।

‘कलात्मक पाराले सचेतना प्रवाह गर्ने शैलीका नाटक लेख्छु र निर्देशन गर्छु, नाटकमा पटकथा, संवाद सबै भएकाले रमाइलो लाग्छ ।’, कुराकानीका क्रममा केसाङले भने ।

उमेर किशोरावस्थाबाट छिप्पिँदै युवावस्थातिर ढल्किरहँदा कलासँग–सँगै साहित्य विधामा कलम चलाउन थालेका उनका कविता र नाटक संग्रहित लेख संग्रह ‘फूलबारी’ र ‘मुटुको स्पन्दनमा’ मुक्तक संग्रह प्रकाशित छन् ।

लेखक लामाले ‘विधवालाई सिन्दूर’, ‘रेन्जिम दोर्जे’ (तामाङ ऐतिहासिक उपन्यास) र ‘कोसिस’ (बाल उपन्यास) लेखेर साहित्यकारको पंक्तिमा पनि आफूलाई पारेका छन् ।

गीत/संगीतलाई रहरको पाटो बनाएका उनले आधा दर्जन गीतमा संगीत दिएको र आफूले रचना गरेका एक दर्जन गीत विभिन्न माध्यमबाट गुञ्जिएको सुनाए ।

२०६२/०६३ सालमा ‘कसूर’ नामक टेलीश्रृंखला निर्माण गरी विभिन्न टेलिभिजनबाट प्रशारण गरेका केसाङका बाल चलचित्र ‘किताब’ र नारीप्रधान चलचित्र ‘प्यारी कुसुम’ प्रदर्शन भएका थिए ।

आफूले आर्जेका ज्ञान, सीप, योग्यतामध्ये काठमाडौंको बसाइका क्रममा ललितकलाको मात्र प्रशिक्षण लिएको बताउँदै उनले भने, ‘तर आफ्ना कुनैैपनि विधामा सन्तुष्ट हुन सकिँन, सोचे जस्तो भएकै छैन, हेर्दै, बुझ्दै, सिक्दै काम गर्दैछु ।’

केसाङ एक वर्षअघिदेखि मेचीनगरका विभिन्न निजी विद्यालयमा नेपाली मौलिक पहिचान झल्काउने सांस्कृतिक नृत्यकला, चित्रकला र नाट्यकला सिकाउँदै आएका छन् ।

२८ वर्ष काठमाडौं बसेपछि ‘कान्छी नानी’

सानैदेखि नाटक लेख्ने लामाले भविष्यमा चलचित्रको कुशल लेखक बन्ने सौख पालेका थिए । १७ वर्षको उमेरमा एसएलसी दिएका उनी त्यही धोको पूरा गर्न २०४९ सालमा काठमाडौं गए ।

‘संघर्षको यात्रा अनि सुरु भो, त्यसो त आफ्नै गाउँठाउँमा पनि संघर्ष नगरेको थिइँन, खासमा जीवन भनेकै संघर्ष हो ।’, केसाङले थपे । बागबजारस्थित जेनेरल आर्टमा काम सुरु गरेका लामाको तलब मासिक १६ सय रुपैयाँ थियो ।

“त्यसअघि ५ सय पनि कमाएको थिइँन, १६ सय त ठूलो लाग्यो” उनी भन्छन्, “त्यो पेशा जीवनकै पहिलो थियो, बल्ल खाने, लाउने र बस्ने बन्दोबस्त भो ।” शिल्पसम्बन्धी काम गर्ने सानैदेखिको इच्छा पूरा नभएको भए त्यहाँ टिक्नसक्ने अवस्थै नरहेको केसाङले सुनाए ।

“खासमा फिल्मको स्क्रिप्ट राइटर बन्न गएको थिएँ, त्यो लाइनमा छिर्नै गाह्रो, पुगेपनि त्यतिखेर पैसा पाइँदैनथ्यो” उनले थपे, “चित्र बनाउन गएको थिइँन, अडिनका लागि त्यही गर्नुको विकल्पै थिएन ।”

नाटक निकै चल्ने उबेलाको काठमाडौंमा राम्रो ‘स्क्रिन प्ले’ गर्ने केसाङको लेखन र निर्देशनमा स्थानीय कलाकारले अभिनय गरेका थुप्रै नाटक प्रदर्शन भए ।

राष्ट्रिय नाँच घर, राष्ट्रिय सभा गृह, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत स–साना हलहरुमा ठूल्ठूला नाटकहरु प्रदर्शन गरिएको उनको भनाई छ ।

चलचित्रको पाटोलाई थाँती राखेर चित्रकलाको काम गर्दागर्दै २०६८ सालमा आफैं ‘कान्छी नानी’ नामक चलचित्र निर्माण गरेर केसाङले आफ्नो सौख पूरा गरेका थिए ।

बालश्रम विरुद्धको जनचेतनामूलक उक्त चलचित्र देशव्यापी प्रदर्शन भइरहँदा उनलाई सर्वत्र स्यावासी मिल्यो । आफ्नै कथा, निर्देशन र अभिनय रहेको चलचित्रबारे लामा भन्छन्, ‘सारा इच्छा त्यहीँ पूरा गरेँ, त्यो चलचित्र समाजप्रतिको दृष्टिकोण पनि थियो ।’

जीवनको उर्जाशील उमेर काठमाडौं खाल्डोलाई सुम्पिएका लामा २०७९ सालमा झापा फर्किएर आफ्नै गाउँठाउँमा संघर्ष गरिरहेका छन् ।

जोड सांस्कृतिक महाअभियानको थालनी

उनले गत चैतदेखि मेचीनगर–८ स्थित धार्मिक तथा पर्यटकीयस्थल पातालगंगाबाट जोड सांस्कृतिक महाअभियान थालेका छन् ।

“अभियान विभिन्न उद्देश्यले चलाउने गरिन्छ, अनेकन रुप र स्वरुपमा देखापर्छन्” अभियानहरुबारे प्रस्ट्याउँदै केसाङले थपे, “ती क्षणिक हुन्छन्, निश्चित अवधिसम्म चल्छन् र स्वतः सेलाएर जान्छन् ।”

तर, अगुवाई गरिरहेको नवीन महाअभियानलाई भने आफू बाँचुञ्जेल अघि बढाइरहने उनको अठोट छ । नेपालमा अहिलेसम्म सांस्कृतिक अभियान कसैले पनि सञ्चालन नगरेको लामाको भनाई छ ।

नितान्त फरक उद्देश्य र प्रकृतिको अभियानको नेतृत्व पहिलोपटक आफूले गरेको केसाङले दाबी गरे ।

“कतिपयलाई त यो कस्तो अभियान हो भन्ने पनि लागेको होला” लामा भन्छन्, “यसको उद्देश्य धार्मिक र पर्यटकीयस्थलको चित्र कोरेर तयार गर्ने मात्र नभई मान्छेको सांस्कृतिक कुरालाई उठान गर्नु हो ।”

पश्चिमा संस्कृति हावी भइरहेका बेला बाल मस्तिष्कमा सांस्कृतिक चेत भर्ने, बालबालिकालाई नेपाली मौलिकता बुझाउने, नेपाली पाराको संस्कार बसाउने लगायत हेतुले अभियान थालिएको उनको भनाई छ ।

कला–जीवन, जीवन–उत्पादन, उत्पादन–श्रम, श्रम–संस्कार, संस्कार–सभ्यता, सभ्यता–पहिचान, पहिचान–पर्यटन, पर्यटन–विकास र विकासलाई देशसँग जोडेर देशसँग गर्व जोडिएपछि गर्वसँग आफूलाई जोड्न महाअभियानको सूत्रपात भएको अभियन्ता लामा बताउँछन् ।

पातालगंगा मन्दिर परिसरमा गंगा, महादेवसहित धार्मिक एवं ऐतिहासिक पृष्ठभूमि उजागर गर्ने चित्र कोरेर त्यहाँको पहिचान स्थापित गर्ने प्रयत्न भइरहेको केसाङको भनाई छ ।

“यसलाई हामिले श्रृंगार भनेका छौं, यो पूर्वको सभ्यता पनि हो” उनले थपे, “चित्रकला सुरु गरेपछि पर्यटक संख्या बढेको छ, यसपछि अर्को ठाउँमा बनाउँछौं ।”

अभियानलाई नबुझिदिँदा गुनासो

अभियानको सुरुवाती चरणमा आवश्यक सहयोगका लागि प्रस्ताव गरिएका केही व्यक्ति र संघ–संस्थाले कुरा नबुझेकोप्रति उनले गुनासो व्यक्त गरे ।

‘निश्चित केही ठाउँमा कुरा राखेँ, बुझेजस्तो लागेन, साझा अभियानको सांस्कृतिक पक्ष बुझ्नु नि हुन्न भने उहाँहरुले के दिनुहुन्छ होला र ?’, केसाङले दुःखेसो पोखे ।

‘सांस्कृतिक विकासलाई विकासका रुपमा हेरिएकै छैन, म माग्दिन पनि, नबुझाइ कसरी लिनु, नबुझि कसरी दिनु, अप्ठ्यारो यही भो’, लामाले थपे ।

स्थानीय तह, सम्बद्ध निकाय, सरोकारवाला व्यक्ति र संस्थाबाट सहयोग नपाइएको बताउँदै उनले भने, ‘यो क्षेत्रबारे बुझाउन नसकेर हो वा नबुझेरै हो यस्तो भएको, समूहका ७ जनाको सहयोगमा अभियान चल्दैछ ।’

सांस्कृतिक अभियन्ता लामा नेपाली भाषा, कला, संस्कार र संस्कृतिको जगेर्नाका लागि सबैमा आग्रह गर्छन् । कलाकारलाई स्थानीय र राष्ट्रिय भनेर गलत भाष्य स्थापित गरिएकोप्रति केसाङको आपत्ति छ ।

कलाकारलाई राष्ट्रका गहना नभनेर सम्पत्तिको रुपमा लिइनुपर्ने तर्क गर्दै लामा भन्छन्, ‘नेपाली कलाकारप्रति राज्यको दृष्टिकोण र व्यवहार चित्तबुझ्दो छैन ।’

चित्रकलालाई जीवनको सर्वस्व ठानेर जीवन त्यसैमा अर्पिएका उनी मनदेखि नै चित्र कोर्ने गर्छन् । चित्र नबनाइ बाँच्नै नसक्ने केसाङ चित्रकला बेगरको जीवन खल्लो र अपुरो लाग्ने बताउँछन् ।

सम्बन्धित खबर