२०८१ कार्तिक २, शुक्रवार , १२:१२:४९ बजे

Sajhamanch
'

त्रिशूलीमा खसेका थप दुई यात्रीको शव फेला, अहिलेसम्म २२ जनाको शव भेटियो

शुक्रवार, साउन ४, २०८१

चितवन । चितवनको सिमलतालमा पहिरोसँगै खसेर बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । नवलपरासीतर्फ नारायणी नदीमा शव भेटिएको हो ।

२८ असार शुक्रबार नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको बसमा सवारमध्ये थप दुई जनाको शव फेला परेसँगै भेटिनेको संख्या २२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, भेटिएका २२ जनामध्ये ८ जनाको सनाखत (पहिचान) हुन बाँकी छ । यसअघि बिहीबार दिउँसोसम्म २० जनाको शव भेटिएको थियो । अझै ४० जना बेपत्ता छन् ।

२८ असार शुक्रबार बिहान २७ जना यात्रु लिएर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको ०३–००१ ख २४९५ नम्बर गणपति डिलक्स र ३८ यात्रुसहित पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स पहिरोसँगै त्रिशूलीमा खसेका थिए ।

दुर्घटनालगत्तै बसको झ्यालबाट निस्केका गणपति डिलक्सका तीन यात्रुले त्रिशूलीको भेलमा पौडेर ज्यान जोगाएका थिए । यसरी निस्कनेमा रौतहटका नन्दन दास, जोगेश्वर राय यादव र सुरज गुप्ता थिए । उनीहरूबाहेक ६२ जना बससँगै बेपत्ता भएका थिए । हराएकामध्ये अहिलेसम्म २२ जना फेला परे पनि बाँकी ४० जनाको अवस्था अज्ञात छ । भेटिएका अधिकांश शव पुरुषको हो ।

करिब ५ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित उद्धारकर्मीहरूको टोली बेपत्ताहरूको खोजीमा परिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । खोजीका लागि मोटरबोट, र्‍याफ्टिङ बोट, वाटर ड्रोनलगायत वस्तुको प्रयाग गरिएको छ । तर, अहिलेसम्म फेला परेका शवहरू नदीको गहिराइबाट निकालिएको होइन । कुनै शव नदी किनारका रुखमा अड्केको तथा कुनै बालुवामा पुरिएर थोरै कपडा देखिएको अवस्थामा फेला पारिएको हो ।

सम्बन्धित खबर