२०८१ पौष ८, सोमवार , ०१:५१:१८ बजे

Sajhamanch
'

सभामुख घिमिरेले छलफलका लागि बोलाए सहरी विकासमन्त्री सिंहलाई

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई छलफलका लागि बोलाएका छन् । सभामुखको कार्यकक्षमा बिहान ११ः३० बजे मन्त्रीसहित मन्त्रालयका सचिव, भवनका महानिर्देशक, संसद् भवन निर्माण आयोजनाका पदाधिकारीलाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

नयाँ संसद् भवन निर्माणको काम धिमा गतिमा भएपछि असन्तुष्ट रहेका सभामुखले सहरी विकास मन्त्री, मन्त्रालय अन्तर्गतका निकायको ध्यानाकर्षण गराउन लागेका हुन् । केही दिनअघि संसद् भवन निर्माणको अवलोकनका लागि पुगेका सभामुख कार्य प्रगतिदेखि असन्तुष्ट रहेका दिए ।

प्रेस सल्लाहकार अधिकारीले भने– ‘नयाँ संसद् भवन निर्माणमा भइरहेको ढिलाइ लगायतका बारेमा छलफलका लागि सहरी विकास मन्त्रीलाई बोलाउनुभएको हो । स्थलगत अवलोकनका लागि केही दिन अघि जानुभएको थियो । ६ महिनाअघि भवनको अवस्था जस्तो छ अहिले पनि त्यस्तै रहेको छ । भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखज्यूको चासो रहेको छ ।’

नयाँ सरकार, नयाँ मन्त्री आएको हुनाले सभामुख घिमिरेले ध्यानाकर्षण गराउन लागेका हुन । सहरी विकास मन्त्रालय मातहतमा सिंहदरबार परिसरमा नयाँ सङ्घीय संसद् भवन निर्माण भइरहेको छ । २०७९ सालमा निर्माण सम्पन्न हुनुपर्ने सम्झौता भए पनि हालसम्म भवन निर्माणको काम सम्पन्न हुन नसक्दा नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद् बैठक सञ्चालन भइरहेको छ ।