ताप्लेजुङ । एक वर्षको अवधिमा २ लाख ३१ हजार ३३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आर्थिक वर्ष २०८०/८१ को असारमा मात्र २ हजार ७५६ जनाले देवीको दर्शन गरेका हुन् ।
आवको २०८०–८१ पहिलो महिना अर्थात् गत साउनामा १ हजार १२२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा ५ हजार, असोजमा १० हजार ३४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी) का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार १६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ ।
समितिका अनुसार मङ्सिरमा २० हजार ४१६, पुसमा ५ हजार ६५५ र माघमा ६ हजार ४०१ जनाले पूजापाठ गरेका छन् । त्यस्तै फागुनमा १७ हजार ९१२ र चैतमा ५२ हजार ४५५ भक्तजनले पूजापाठ गरेका छन् । जेठमा ८ हजार ६२९ र असारमा २ हजार ७५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।
३ हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ ।