२०८१ पौष २५, बिहिवार , ०२:३६:५८ बजे

Sajhamanch
'

अण्डा उत्पादक किसान ५ वर्षमा ७५ प्रतिशत घटे

बुधवार, साउन २, २०८१

चितवन । पछिल्लो पाँच वर्षमा अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् ।

लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्नुपरेपछि किसानहरू विस्थापित भएका पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए ।

दुई वर्ष अघिसम्म नेपालमा लेयर्स कुखुरा पाल्ने फार्मको संख्या पाँच हजारभन्दा बढी रहेकोमा अहिले दुई हजारभन्दा तल झरेको छ ।

केही महिनाअघि विज्ञहरूले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र मिडियम अण्डाको मूल्य १६ रुपैयाँ रहेको छ ।

अहिले भने लागत मूल्य नजिक रहेकाले केही राहत भएको मञ्चका अध्यक्ष भट्टले बताए ।

अहिले २ लाख ८२ हजार उद्योगी बैंकको कालोसूचीमा रहेकामा तीमध्ये ४० प्रतिशत कुखुरापालक किसान एवं पोल्ट्री व्यवसायी रहेका नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेलको दाबी छ ।

दानाको कच्चा पदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेट लगायत सामग्रीको मूल्य बढेको तर, अण्डाको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उनले बताए ।

नेपालमा अहिले दैनिक २५ लाख गोटा अण्डा उत्पादन भइरहेका छन् । तीन वर्षअघि दैनिक झन्डै ६० लाख अण्डा उत्पादन हुने गरेको थियो ।

सम्बन्धित खबर