२०८१ भदौ २२, शनिवार , ११:१०:५० बजे

Sajhamanch
'

‘‘सदस्यले मागेका बेला बचत फिर्ता र ऋण दिएका छौं’’ : अध्यक्ष न्यौपाने

बिहिवार, साउन ३, २०८१

झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोबारसँगै पूर्वप्राथमिक विद्यालय सञ्चालन गरेर बहुउद्देश्यीय प्रकृतिको संस्थाको परिचयलाई सार्थकता दिएको छ । संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि क्रमशः यसलाई अघि बढाइरहेको र शिक्षा सिकोप निकेतन भनेर पूर्वप्राथमिक तहको विद्यालय सञ्चालन गरिरहेको छ । क्रमशः माथिल्ला कक्षाहरु थप्दै लैजाने तयारीमा संस्था छ ।एक दशक लामो सहकारिताको अनुभवलाई कार्यरुप दिँदै शिक्षा बहुउद्देश्यीय सहकारीले आजको अक्करिलो परिस्थितिमा पनि सदस्यहरुले जम्मा गरेको बचत फिर्ता गर्न सक्नु र ऋणको अपेक्षा लिएर आउने सदस्यलाई आवश्यकता सम्बोधन गर्नसक्नु संस्थाको दिगोपनाको संकेत गर्दछ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था र सहकारी अभियान केन्द्रित रहेर संस्थाका अध्यक्ष सुब्रत न्यौपानेसँग सहकारी वार्ता गरिएको छ ।

सहकारी संस्थाको नेतृत्व गरिरहँदा सहकारीबारे तपाईंको बुझाई र अनुभव बताइदिनुस् न ।

सहकारी संस्थाहरुले स-सानो वर्गको पूँजीलाई एकमुष्ठ पारेर व्यापार-व्यवसाय, उद्यमशिलताको विकास र प्रवर्द्धनका लागि एक ढंगले काम गरिरहेका छन् । सहकारी संस्थाले मुख्य गरी छरिएर रहेको पूँजीलाई एकीकृत गरेर त्यसबाट आफ्ना सदस्यहरुलाई आमनिर्भरताका लागि परिचालन गर्दै आएका छन् । यो चाहिं प्रस्ट देखिएको एउटा परिस्थिति पनि हो ।

सहकारीले सदस्यको जीवनस्तरमा कस्तो प्रभाव पारेको छ ?

लामो अवधिसम्म सहकारीमा आबद्ध भएका सदस्यहरुको संस्थामा वित्तीय पहुँच स्थापित भएको कुरालाई हामीले हेर्नुपर्छ । ठूला बैंकहरुमा साना तथा मझौला प्रकृतिका व्यवसाय गर्ने वा आत्मनिर्भरता खोजेका नागरिकहरुको पहुँच नपुगिरहेकाबेला सहकारीहरु खुलेका थिए । ती नै संस्थामार्फत अहिले सदस्यहरुको वित्तीय पहुँच स्थापित भएको विषयलाई नकार्न सकिन्न । सहकारीलाई हामीले त्यसरी बुझ्नुपर्छ ।

सामाजिक योगदानका दृष्टिले सहकारी संस्थाले समाजका लागि निर्वाह गरेको भूमिकालाई पनि हेर्नुपर्छ । उदाहरणका लागि कुनै पनि सदस्यको घरमा मरिमराउ पर्दा मानो चामल र धेरथोर राहत रकम सुविधा लिएर जाने पाटोमा पनि सहकारी संस्थाहरुले काम गरिरहेका छन् । तीबाहेक विपन्न वर्गको जीवनस्तर उकास्न, आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्न पनि सहकारीहरुको योगदान बलियो छ । देशभरका सहकारीमा यो देखिन्छ ।

सुब्रत न्यौपाने

पछिल्लोसमय सहकारीहरुले आफ्ना सदस्यहरुको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने काम गरिरहेका छन् । आफूसँग उपचार गर्ने पैसा नहुँदा पनि सहकारीको सदस्य भएर संस्थाको स्वास्थ्य उपचार कोषमा केही रकम जम्मा गरेकाले राहत पाएका छन् । सहकारीको योगदान जनमुखी र प्रभावकारी छ । कम आयआर्जन भएका र आत्मनिर्भरताको खोजीमा रहेका सदस्यहरुका लागि सहकारी संस्थाहरु उपयोगी छन् । सहकारी संस्थाले बहुआयामिक काम पनि गरेका छन् । सहकारीका माध्यमबाट सामाजिक रुपान्तरण र आर्थिक विकासमा टेवा पुगेको छ ।

विषयगत सहकारीहरु थुप्रै छन्, बचत र ऋणको कारोबार नगर्ने छैनन् । के कारणले होला ?

सहकारी संस्था विभिन्न उद्देश्यले खोलिएको हुन्छ । सहकारीको विनियम मै कुन उद्देश्य अनुसार सञ्चालन गर्ने भन्ने व्यवस्था उल्लेख गरिएको हुन्छ । तर, सबैको प्राथमिक विषय चाहिं बचत तथा ऋणबाटै सुरु भएको पाइन्छ । कृषि सहकारी भनेर चलिरहेको हुन्छ, तर प्रारम्भिक विन्दू चाहिं बचत तथा ऋणबाटै भएको देखिन्छ । यसलाई कसरी हेर्ने त्यो त राज्यका निकायको कुरा होला । हामीले पनि त्यसरी नै अभ्यास थाल्यौं । सहकारीहरुले विषयगत प्रक्रियाको थालनी गरेका छन् । तर, सबैको प्रारम्भिक विन्दू चाहिं बचत तथा ऋण नै छ । यो विषयलाई सहकारी संस्थाहरुले क्रमिकरुपमा सुधार गर्दै लैजानुपर्ने परिस्थिति छ । आफ्नो उद्देश्य प्राप्तिका लागि बचत तथा ऋणको कारोबार सुरु गरेको हुनसक्छ ।

तपाईंले नेतृत्व गर्नुभएको संस्थाको नामसँग उद्देश्य मिल्दोजुल्दो छ कि छैन ?

शिक्षा बचत तथा ऋण सहकारी संस्थाको नामबाट संस्था दर्ता भएर केही वर्ष त्यही नाममा संस्था सञ्चालन भयो । त्यसपछि बहुउद्देश्यीय प्रकृतिका बहुआयामिक काम उद्देश्यले संस्थाको उद्देश्य फेरेर बहुउद्देश्यीय बनायौं । संस्थाको नाम र उद्देश्यबीच तालमेल मिलिरहेकै छ । सरकारले पछिल्लो समय सहकारी विद्यालयको अवधारणा ल्याएर स्वीकारेपछि नेपालमा त्यही शैलीको विद्यालय सञ्चालन गर्न संस्थाको नाम शिक्षा जुराएका हौं । संस्था अहिले सहकारी विद्यालय सञ्चालनको प्रारम्भिक तहमा छ । संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि क्रमशः यसलाई अघि बढाइरहेका छौं । संस्थाले शिक्षा सिकोप निकेतन भनेर पूर्वप्राथमिक तहको विद्यालय सञ्चालन गरिरहेको छ । क्रमशः माथिल्ला कक्षाहरु थप्दै जान्छौं । वर्तमान ऐन कानून अनुसार नै यसलाई अगाडि लैजानुपर्ने अवस्था छ । त्यसकारण केही समय लाग्न सक्छ र यो नयाँ प्रयोग पनि हुन्छ भन्ने लागेको छ ।

झापामा सहकारीले सञ्चालन गरेका अरु विद्यालय पनि छन् ?

छन् नि, सहकारीले कम्पनी मोडलकै विद्यालय पनि सञ्चालन गरेका छन् । गुठी अन्तर्गत रहेर सहकारीमार्फत विद्यालय सञ्चालन गरिएको छ । हामीले चाहिं सहकारी मोडलमै सञ्चालन गर्न खोजेका छौं । सहकारीले सञ्चालन गरेको विद्यालयको मोडल चाहिं फरक–फरक छ । तर, झापामा चाहिं सहकारी मोडलमै सञ्चालन भएको हाम्रो विद्यालय दोस्रो हो । विद्यालय सञ्चालन गर्ने प्रक्रियामा सहकारीहरु अघि बढेका छन् । सहकारी विद्यालय अझ फराकिलो हुने र गुणस्तरीय शिक्षा प्रदान गर्ने अवस्था आउँछ भन्न सकिन्छ ।

तपाईंहरुको विद्यालयको भविष्यमा कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?

अब हामी कक्षा १, २ हुँदै माथिल्लो कक्षा सञ्चालनको प्रक्रियामा जान्छौं । कक्षा थपिँदै जाँदा कक्षा १२ सम्म हुनसक्छ । राज्यले भविष्यमा अनुमति दिएको खण्डमा अझ माथिल्लो तह पनि थपिन सक्छ । यसमा ऐन कानूनका केही जटिलताहरु छन् । भविष्यमा सदस्यका छोराछोरीहरुले सहुलियत शुल्कमा गुणस्तरीय उच्च शिक्षा पढ्न पाउने गरी विद्यालयलाई अघि बढाउने हाम्रो सोच छ । यसका लागि हामीले दीर्घकालीन उद्देश्य बनाएका छौं ।

गैर सदस्यका छोराछोरीले पनि पढ्न पाउँछन् ?

पढ्ने विषयमा कसैलाई पनि रोकावट, छेकावट हुँदैन । यो सबैका लागि हो । पढ्न पाउने सबैको अधिकार हो । भन्न चाहिं हामी प्राथमिकता हाम्रा सदस्यका छोराछोरीलाई नै भन्छौं । पढ्न आउने सबैलाई स्वागत गरेका छौं । सबैलाई स्वीकारेका छौं तर, सदस्यका छोराछोरी पढिरहेका भए सुविधा त उनीहरुले नै पाउने भए । भविष्यमा सदस्य नभएकालाई सदस्य बन्न प्रेरित गर्छौं र त्यही अनुसार सेवासुविधा प्रदान गर्छौं । सहकारीले चलाएको विद्यालय भएकाले पनि सेवासुविधामा प्राथमिकता सदस्यका छोराछोरीले नै पाउँछन् । अन्य विद्यालयभन्दा हाम्रो विद्यालयमा लाग्ने शुल्कको प्रकृति भने फरक छ । हाम्रो विद्यालयमा सहुलियत शुल्कमा पठनपाठनको व्यवस्था मिलाएका छौं ।

बचत कारोबारलाई सहकारीको मेरुदण्ड मानिन्छ । आ.व. २०८०/८१ मा संस्थाको आर्थिक कारोबार कस्तो रह्यो ?

सहकारी संस्थामा बचतको कारोबार मेरुदण्डकै रुपमा छ । बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि लगायत सबै सहकारीले बचत नै संकलन गरिरहेका छन्, ऋण नै प्रवाह गरिरहेका छन् । विनियममै जुन उद्देश्य वा व्यवस्था गरिएको छ, त्यो कार्यान्वयनको प्रक्रियामा सहकारी संस्था नगइ उपाय नै छैन । लिइएको उद्देश्यमा ढिलो चाँडो पुग्नै पर्छ । संस्थाको स्थिति अहिले पनि निराशाजनक छैन । सहकारीका विषयमा देशभर अनेक प्रकारका हल्ला चलेका छन् । ठूला सहकारीमा समस्या देखिएको, कतिपय सहकारी संकटमा परेको, बचतकर्ताले बचत फिर्ता नपाइरहेको जस्ता चर्चा देशव्यापी छ । हाम्रो संस्थामा २५ करोड बढीको वासलात छ । त्यसैले पनि हाम्रो संस्था दर्बिलो छ । जगेडा लगायतका विभिन्न कोष २ करोड बढीको छ । संस्थाप्रति विश्वास गरेका सदस्यहरुको १८ करोड बढी बचत अहिले पनि छ । संस्थाले पछिल्लो आर्थिक वर्षमा करिब १८ करोड लगानी गरेको अवस्था छ । अहिले संस्थामा सदस्यहरुको ३ करोड ५७ लाख रुपैयाँ बढी शेयरपूँजी छ । संस्था वित्तीय रुपमा बलियो र तरलतातर्फ सन्तुलित छ ।

संस्थासँग बचतकर्ता कत्तिको सन्तुष्ट छन् ? बचत फिर्ता र कर्जा आपूर्तिको स्थिति कस्तो छ ?

बचत गरेको पैसा चाहिएका बेला पाइन्छ कि पाइँदैन, अहिले सबैले सोच्ने विषय नै यही हो । बचतकर्तालाई आवश्यक पर्दा बचत फिर्ता गर्न अहिलेसम्म कुनै समस्या छैन । सदस्यले मागेका बेला बचत फिर्ता गरेकै छौं, ऋण दिएकै छौं । सदस्यको व्यवसायको प्रकृति र स्थिति बुझेर ढिलोमा ऋण माग गरेको १५ दिनभित्रमा उपलब्ध गराउँछौं । संस्था र सदस्यबीचको सम्बन्ध प्रगाढ छ । अहिलेसम्म दुवैपक्षबीच विश्वासको वातावरण कायमै छ । यसले निरन्तरता पाउनेमा हामी ढुक्क छौं ।

पूरै अन्तरवार्ताको लागि यो लिङ्क हेर्नुहोला :