२०८१ पौष २२, सोमवार , ०७:५४:४० बजे

Sajhamanch
'

कोशीमा मुख्यमन्त्रीले गरे प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता

सोमवार, असार ३१, २०८१

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चलाई प्रभावकारी बनाउन भन्दै उनले नयाँ आर्थिक वर्ष सुरु हुनु एक दिनअघि नै प्रमुख सचिव केदारनाथ शर्मासँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

आर्थिक वर्षको अन्तिममा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्न आर्थिक वर्ष नलाग्दै सम्झौता गरेको मुख्यमन्त्री कार्कीले बताए । अब प्रदेश सरकारले साउनदेखि नै विकास कार्यक्रम कार्यान्वयनमा तीव्रता दिने उनको भनाई छ ।

प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कार्कीले प्रमुख सचिव शर्मासँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

त्यसलगत्तै शर्माले मुख्यमन्त्री कार्यालयका सचिव बद्री कार्की र विष्णुप्रसाद पौडेलसँग कार्यसम्पादन सम्झौता गरे ।

मुख्यमन्त्री कार्कीले साउन १५ भित्र सबै मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्न निर्देशन दिएका छन् ।

१५ साउनभित्रै कार्ययोजना बनाएर १ करोड रुपैयाँभन्दा माथिको योजना कार्यान्वयनमा लैजान पनि उनले निर्देशन दिएका छन् ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम २५ दिनमा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार ४४१ रुपैयाँ खर्च गरेको थियो ।

असार महिनाको अन्तिम २५ असारमा मात्रै २ अर्ब ३० करोड ३५ लाख ८८ हजार ६ सय ८१ रुपैयाँ खर्च गरेको थियो ।

३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको सरकारले २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६ सय ४४ रुपैयाँ मात्रै खर्च गरेको थियो ।

आर्थिक वर्षको अन्तिममा खर्च गर्ने परिपाटीलाई अन्त्य गर्न साउनदेखि नै कार्ययोजना बनाएर काम अघि बढेको मुख्यमन्त्री कार्कीको भनाई छ ।