२०८१ पौष २६, शुक्रवार , ०२:११:४० बजे

Sajhamanch
'

त्रिशूली नदीमा बेपत्ता बस र यात्रु खोज्न विदेशबाट प्रविधि ल्याइने

आइतवार, असार ३०, २०८१

भरतपुर । गृह सचिव एकनारायण अर्यालले त्रिशूली नदीको धमिलो पानीमा बेपत्ता बस र यात्रु खोज्न सक्ने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।

सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित चितवन आएका उनले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिए ।

उनले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका ५०० सुरक्षाकर्मी र गोताखोर परिचालन गरेको बताए । “यातायात व्यवसायीसँग समेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौं,” अर्यालले भने, “अहिलेसम्म ५ वटा शव फेला परिसकेको छ ।”

उनले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताए । सचिव अर्यालसहित प्रहरी महानिरीक्षक वसन्त कुँवर लगायतको सुरक्षा टोलीले आजै दुर्घटनास्थलको स्थलगत निरीक्षण गर्ने जनाइएको छ ।

यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं.को एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नं.को गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए ।

नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म ५ जनाको मात्र शव फेला परेको छ ।