२०८१ पौष २६, शुक्रवार , ०४:४०:५८ बजे

Sajhamanch
'

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक

आइतवार, असार ३०, २०८१

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको हो । उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् ।

उनी कलंकीमा व्यवसाय गरेर बस्ने गरेको खुलेको छ । उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेका प्रहरीले जनाएको छ ।

उनको शव मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । यस्तै, पश्चिम चितवनको भरतपुर–२८ गोलाघाटमा आइतबार बिहान भेटिएको अर्को शवको पनि सनाखत भएको छ ।

मृतक ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भारत बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ठाकुरको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेका प्रहरीले जनाएको छ ।

ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु हुन् । यही असार २८ गते बिहान भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा आएको पहिरोले दुईवटा बस बगाएको थियो ।

काठमाडौंबाट गौर जाँदै गरेको बसमा ३८ र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा २७ यात्रु रहेको अनुमान छ । तीमध्ये काठमाडौंबाट रौतहट जाँदै गरेको बसका ३ यात्रुले पौडिएर ज्यान बचाएका थिए ।

बेपत्ता भएकाहरुमध्ये हालसम्म ५ जनाको मात्र शव भेटिएको छ । पाँचै जनाको सनाखतसमेत भइसकेको छ । शनिबार ३ जनाको र आज २ जनाको शव भेटिएको हो ।

शनिबार दिउँसो भरतपुर–२८ गोलाघाटमा भारतीय नागरिक ऋषि पल साह, पूर्वी नवलपरासीको गैंडाकोटमा चितवनको माडी नगरपालिका–१ का विकास परियार र सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी भएको पुष्टि भएको थियो ।

सम्बन्धित खबर