२०८१ कार्तिक ४, आइतवार , १२:५९:१६ बजे

Sajhamanch
'

रात्रि बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव

शुक्रवार, असार २८, २०८१

काठमाडौं । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ ।

आज बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो ।

यो विषयमा यातायात व्यवसयीहरूसँग छलफल गर्न लागेको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव डा।भीष्मकुमार भूसालले जानकारी दिए ।

बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।

यसअघि २०७९ साल साउनमा रातिको यात्रा जोखिमपूर्ण भएको भन्दै मकवानपुर प्रहरी प्रशासनले त्रिभूवन राजपथ हुँदै काठमाडौं आउने बसलाई रोक लगाएको थियो ।

यातायात व्यवसायीहरूले भने रात्रिकालीन सेवामा रोक लगाउनु नै जोखिम न्यूनीकरणको उपाय नभएको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले रात्रिकालीन सेवा रोक्नुभन्दा सडक सुरक्षाका उपायमा ध्यान दिनुपर्ने बताए ।

‘सेवा रोकिंदा हुने घाटा पूर्ति कसले गरिदिने ?’ उनले प्रश्न गर्दै भने, ‘कुनैकुनै ठाउँमा परिस्थितिबश् बन्द गर्नपर्ने त होला तर ठप्पै पार्ने गर्नुहुँदैन ।’

शुक्रवार, असार २८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर