काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठदेखि आज (२७ असार) सम्म प्राकृतिक विपद्बाट ८८ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परेर १०६ जना घाइते भएका छन् ।
आज, बिहीवार दिउँसोसम्म विपद्मा परी कोशी प्रदेशमा १९ जना, मधेशमा ४, बागमतीमा ६, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी ८८ जनाको मृत्यु भएको हो ।
त्यस्तै, बाढी तथा पहिरोमा परी ६ जना बेपत्ता भएका र प्राकृतिक विपद्मा परेका ५३ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बाढीले १७६ घर डुबानमा परेका छन् भने १६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
विपद्का घटनाबाट ३ हजार ४६२ घरपरिवार विस्थापित भएका छन् । यो अवधिमा ४७९ वटा पशु चौपाया मरेका छन् ।