२०८१ कार्तिक ३०, शुक्रवार , ०४:०८:४५ बजे

Sajhamanch
'

आफ्नै कर्मचारीले कुखुरा फार्म सञ्चालकको हत्या गरेको आशंका

बिहिवार, असार २७, २०८१

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको आफ्नै कर्मचारीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

बिहीवार बिहान सुन्दरहरैंचास्थित आफ्नै कुखुरा फार्मभित्र बीभत्स ढंगले हत्या गरिएको अवस्थामा उनको फेला परेको थियो । मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले हत्या भएको पुष्टि गर्दै घटनामा संलग्नको पहिचान भइसकेको बताए ।

“घटनामा कुखुरा फार्ममै काम गर्नेहरूको संलग्नता रहेको आशंका छ” उनले भने, “उनीहरू अहिले फरार छन् । खोजी कार्य भइरहेको छ ।” घरनजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको शव त्यही फार्मभित्र बिहीवार करीब साढे १० बजे फेला परेको हो ।

प्रहरीका अनुसार उनको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ । बजगाईंको कुखुरा फार्ममा काम गर्न एक दम्पती बसेका थिए । घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउरा फेला परेको छ ।

मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खबर