२०८१ पौष २३, मङ्गलवार , ०३:४२:४५ बजे

Sajhamanch
'

कोशीमा बाढी र पहिरोबाट ६४५ घरका झन्डै ३ हजार मानिस विस्थापित

बिहिवार, असार २७, २०८१

झापा । लगातारको वर्षापछि उर्लिएको बाढी र खसेको पहिरोले कोशी प्रदेशका २ हजार बढी मानिसलाई विस्थापित बनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अविरल वर्षाका कारण नदीमा बढेको बाढी र पहिरोले ६४५ घरपरिवारका २ हजार ९ सय १९ जना मानिस विस्थापित भएका हुन् ।

सबैभन्दा बढी सुनसरीमा ७ घर पहिरोमा परेर र २०६ वटा घर डुबानमा पर्दा २२६ परिवार विस्थापित भएका थिए । संख्याका हिसाबले ती परिवारका ९९७ जना विस्थापित बनेका हुन् ।

जेठ २८ देखि असार २५ गते गरी ३० दिनको अवधिमा ४६६ घर पहिरो र ४७१ घर बाढीको जोखिममा परेका छन् । कोशी प्रदेशभरिका १४ वटा जिल्ला नै पहिरो र बाढीको जोखिममा रहेका सो कार्यालयले जनाएको छ ।

त्यस्तै, ताप्लेजुङमा जोखिममा परेका १३४ वटा घरका ६७९ जना विस्थापित भएका र सो जिल्लाका १९१ घर पहिरोको जोखिममा रहेका कार्यालयले जनाएको छ ।

पहिरो र डुबानका कारण पाँचथरका १०३ वटा घरका ३५९ जना विस्थापित भएका छन् । प्रहरीका अनुसार उनीहरुको उद्धार गरी छेउछाउका शिक्षण संस्था, धर्मशाला, सामुदायिक भवन लगायत सुरक्षित स्थलमा राखिएको छ ।

उक्त जिल्लाका १०६ वटा घर पहिरोको जोखिममा परेका प्रहरीको अभिलेखमा उल्लेख छ । यसैगरी, झापाका ३ वटा घर पहिरो र १८६ वटा घर डुबानको जोखिममा रहेका छन् । यो जिल्लाका २८ वटा घरका १२० जना विस्थापित भएका छन् ।

पहिरो र बाढीबाट मोरङमा ६८ वटा घरपरिवार पूर्णरुपमा विस्थापित हुँदा ३३० जनालाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरीको तथ्यांक अनुसार तेह्रथुमका २ वटा घर पहिरोको जोखिममा छन् भने विस्थापित भएको एउटा घरका एकजना अन्यत्र सरेका छन् ।

भोजपुरमा विस्थापित भएका दशवटा घरपरिवारमा ६४ जना रहेका र उक्त जिल्लाका १५ वटा घर पहिरोको जोखिममा परेका प्रहरीले जनाएको छ । यस्तै, संखुवासभामा ५९ वटा घर पहिरोको जोखिममा परेका र ५६ घरपरिवार विस्थापित भएका छन् ।

ती घरमा रहेका २८१ जनाले घरै छोडेका छन् । उदयपुरमा ६ वटा घर जोखिममा पर्दा परिवारका ३३ जनाले विस्थापित हुनुपरेको छ । खोटाङका २ वटा घरका १४ जना विस्थापित भएका प्रहरीले जनाएको छ ।

त्यस्तै, ओखलढुंगामा ६ वटा घरका २४ जना विस्थापित भए । सो जिल्लामा ८३ वटा घर पहिरोको जोखिममा रहेका छन् । सोलुखुम्बुका ५ वटा घर पहिरोको जोखिममा पर्दा १७ जना विस्थापित बन्न पुगेका छन् ।