२०८१ पौष २६, शुक्रवार , ०९:४९:१८ बजे

Sajhamanch
'

मनसुनजन्य घटनाबाट झापामा चार जनाको मृत्यु, १ करोड ८ लाख बढीको भौतिक क्षति

मङ्गलवार, असार २५, २०८१

बिर्तामोड । यसवर्षको मनसुनजन्य घटनामा परेर अहिलेसम्म झापा जिल्लामा चार जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म उक्त घटनामा चार जनाको मृत्यु भएको हो ।

लगातारको वर्षाका कारण बढेको खोलाले बगाएर २ जना पुरुष र चट्याङ लागेर २ जना पुरुषको मृत्यु भएको उनले बताए । त्यस्तै, खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् भने चट्याङ लागेर ३ जना महिला घाइते भएका प्रहरीले जनाएको छ ।

त्यसैगरी, मनसुनजन्य घटनाका कारण जिल्लाका ११ वटा विभिन्न स्थानमा झन्डै १ करोड ८ लाख ५ सय रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ । जिल्लाका विभिन्न स्थानमा बाढीबाट १८६ वटा घर डुबानमा परेका छन् भने २८ घरपरिवार विस्थापित भएका छन् ।

विस्थापितमध्ये १६ परिवार घर फर्किएका र १२ परिवार अझै घर फर्किन बाँकी छन् । उक्त अवधिमा बाढीले जिल्लाका २ वटा पुलमा क्षति पुर्याएको छ ।

सो अवधिमा प्रहरीले ११ वटा घरपरिवारका ४० जनालाई उद्धार गर्यो भने मनसुनजन्य घटनाबाट ४ वटा पशुचौपाया मरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मनसुनजन्य घटनामा परेकाहरुको उद्धारका लागि जिल्लाभर हालसम्म १०० जना प्रहरी परिचालित भएका थिए ।

सम्बन्धित खबर