२०८१ पौष २६, शुक्रवार , ०५:१९:१० बजे

Sajhamanch
'

मेचीनगरका तीन वडामा बाँदरको बिगबिगी : पीडित भन्छन्, ‘बाँदरले बसाइँ नै हिंडाउने भो’

मङ्गलवार, असार २५, २०८१

मेचीनगर । बाँदरले दिनहुँजसो आतंक मच्चाउन थालेपछि मेचीनगर–५, ११ र १२ नम्बर वडावासी सास्ती खेप्न बाध्य भएका छन् ।

किसानले खेतबारीमा लगाएको अन्नबालीमा बाँदरले क्षति पुर्याउन नछोडेपछि स्थानीय हैरान हुन थालेका हुन् ।

छेउछाउका जंगलबाट ठूलो संख्यामा हूल बाँधेर गाउँबस्ती पस्ने गरेका बाँदरले घरमा राखेको अन्न र फलफूलसमेत खान थालेपछि वडावासी चिन्तित बनेका छन् । बाँदरकै उपद्रोका कारण पछिल्लो समय त्यस क्षेत्रका कृषकले कोदोको खेती गर्न छोडेका छन् ।

कोदोबालीमा पसेर बाँदरले बिगार गर्न थालेपछि कोदो खेती छोड्नुपरेको वडा नम्बर—५ की तेजीमाया राउतको दुःखेसो छ ।

एकरुपता महिला समूहकी अध्यक्ष समेत रहेकी उनले सो वडाको घोडाजिन टोल विकास संस्थावासीले बाँदर आतंकबाट बढी मार खेप्नुपरेको बताइन् ।

“बीचगाउँको खेतीबाली मात्र होइन, घरमा भण्डारण गरिएको अन्नसमेत जोगाउन गाह्रो भइसक्यो” स्थानीय बन्धनध्वज राई भन्छन्, “बाँदरले गाउँ नै छोडाउला जस्तो छ ।”

बाँदरले बगैंचाका आँप, लिची, कटहर लगायतका फलफूल समेत खाएर नष्ट गर्दै आएको उनको भनाई छ ।

बाँदरले घर–घरै पसेर भित्र राखेको अन्न, फलफूलसमेत केही बाँकी नराख्ने र बाली पनि सखाप पारेपछि बसाइँ हिंड्ने अवस्था आएको वडा नम्बर–११ का योगेश भट्टराई बताउँछन् ।

‘बाँदर मार्न कानूनले दिँदैन, बाँदरले बाँच्न पनि नदिने भो, अब गाउँले मिलेर हेरालु राख्ने सोच बनाएका छौं’, भट्टराईले भने । जंगलमा खानेकुरा नपाएपछि गाउँ छिर्ने गरेका बाँदरले रातदिन पिरोल्ने गरेको मेचीनगरका बाँदर पीडित वडावासीको गुनासो छ ।

सम्बन्धित खबर