२०८१ कार्तिक ४, आइतवार , ११:४५:५० बजे

Sajhamanch
'

संसदमा कांग्रेसले खोज्यो प्रधानमन्त्री र मन्त्री

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । सरकारमा जान तयारी गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेको छ । मंगलबार बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशमा बाढी पहिरोका कारण जनधनको क्षति हुँदा पनि प्रधानमन्त्री र मन्त्री संसदमा आएर जानकारी गराउन माग गरे ।

उनले कञ्चनपुरमा बाढीका कारण विभिन्न प्रकारका घटना घटेको भन्दै सरकारको ध्यानाकर्षण गराए । लेखकले भने–कहाँ कति क्षति भएको छ पत्रिका पढेर थाहा पाउनु परेको छ, कमसेकम सरकारले यो सदनमा आएर देशभरिमा अविरल वर्षाका कारण बाढी पहिरो, डुबानका कारणले कति क्षति भयो, कति मानिस घाइते भए, कति मानिसको ज्यान गयो ? कति विस्थापित छन् ? घाइतेहरूको अवस्था के छ ? विस्थापित भएकाहरूलाई कसरी पुनर्स्थापित गर्ने भन्ने सम्मका कुरा सरकारले जानकारी गराएको छैन ।’

उनले अगाडि भने–‘सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीज्यूहरूको उपस्थिति संसदमा भइरहेको छैन । हिजो पनि यहाँ साथीहरूले कुरा उठाउनुभयो, सरकार विश्वासको मत लिने तयारी गरिरहेको छ, संविधान अनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ, त्यसमा कुनै द्विविधा छैन । सरकारले ३० दिन नै लिओस् । हिजो २८ गते विश्वासको मत लिन थोरै समय हुन्छ, त्यसमा पनि थप्दा भयो । त्यसमा आपत्ति छैन तर सरकार रहुन्जेल त सरकारका प्रति उत्तरदायी भइदिनुपर्यो, आइदिनुपर्यो । भनिदिनुपर्यो कति मानिसको मृत्यु भएको छ, कति घाइते भएका छन्, कतिको उपचार भइरहेको छ ? स्थिति के छ ?’

अविरल वर्षाका कारण बाढी पहिरो र डुबानका कारण समस्या उत्पन्न भएको र त्यसबारेमा सदनमा जानकारी गराउन आग्रह गरे ।

सम्बन्धित खबर