काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।
बाढी, पहिरो, डुबान लगायत प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको र कार्ययोजना बनाएर काम गर्न नसकेको भन्दै उनले राजीनामा माग गरेका हुन् ।
सोमवार प्रतिनिधि सभाको आकस्मिक समयमा सांसद मैनालीले पछिल्लो एक महिनामा प्राकृतिक प्रकोपमा परी ६७ जना मानिसको मृत्यु भएको बताए । कैयौं घाइते भएका भन्दै उनले निःशुल्क स्वास्थ्य उपचारको माग गरे ।
तमाम समस्याका बाबजुद सरकार कानमा तेल हालेर बसेको टिप्पणी गर्दै मैनालीले थपे, ‘यो सबै घटनाको तत्काल जवाफ दिन माग गर्छु । होइन भने नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।’