२०८१ माघ १२, शनिवार , ०८:२५:५१ बजे

Sajhamanch
'

बुद्धशान्तिमा देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास

सोमवार, असार २४, २०८१

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ ।

बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने झोलुङ्गे पुलको सोमवार झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले शिलान्यास गरेका हुन् । बुद्धशान्ति–७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण हुने ४७६ मिटर लम्बाईको झोलुङ्गे पुलको शिलान्यास गरिएको हो ।

शिलान्यासपछि सांसद शर्माले सञ्चालनमा आएपछि उक्त पुलले बुद्धशान्तिका दुई वटा वडा मात्र नभई इलाम र झापाका गाउँलाई समेत जोड्ने बताए ।

पुल सञ्चालन भएपछि बुद्धशान्ति–६ सहित इलामको रोङ गाउँपालिका–५ र ६ का कृषकले उत्पादन गरेका कृषिउपजको बजारीकरणमा समेत सहयोग पुग्ने उनले बताए ।

बुद्धशान्ति–७ का वडा अध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा नं. ६ का अध्यक्ष शिवराज पौडेलले शाब्दिक स्वागत गरेका थिए ।

सो अवसरमा प्रदेश सांसद गोपाल तामाङ, निर्मला तावा, गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवे, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्य, कांग्रेस नेता राम कट्टेल लगायतको उपस्थिति थियो ।

सो पुल निर्माणको ठेक्का थानी जगदम्बा जेभी काठमाडौंले ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसामा लिएको जनाइएको छ । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य २०८३ जेठ २३ गते भित्रमा पूरा गरिसक्नुपर्नेछ ।

निर्माण कार्यलाई तीव्र पारेर २०८३ वैशाख मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर बस्नेतले बताए । शिलान्यास गरिएको कोलबुंगे गौंडा रमिते नामक उक्त पुल कोशी प्रदेशकै सबैभन्दा लामो हुने बताइएको छ ।

सम्बन्धित खबर