२०८१ फागुन १४, बुधवार , ०३:५८:३७ बजे

Sajhamanch
'

बिर्तामोड-भद्रपुर सडक निर्माणको दारुण कथा

आइतवार, असार २३, २०८१

भद्रपुर । थपिएको म्यादभित्र पनि ठेकेदारले भद्रपुर–बिर्तामोड सडकको निर्माण कार्य सम्पन्न गर्न नसकेपछि वर्षादका कारण उत्पन्न समस्यालाई लिएर चन्द्रगढीको लेखनाथ चौकमा हरेक दिन युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

पछिल्लो पटक सडक निर्माणका लागि असारसम्म म्याद थप गरिएको भए पनि सडक निर्माणको ठेक्का पाएको काठमाडौँको कन्टेक प्रालिले तेस्रो पटक थपिएको समयसम्म आइपुग्दा ५० प्रतिशत पनि काम सम्पन्न भएको छैन । सोही कारण झापा सदरमुकाम चन्द्रगढी क्षेत्रमा आवतजावतमा समस्या भएको भन्दै स्थानीय युवाहरूले एक हप्तायता निरन्तर विरोध प्रदर्शन गरिरहेका हुन् ।

सो सडकको गुणस्तरीय निर्माणका लागि दवाव दिँदै आन्दोलन गरेको दशक बित्न लाग्यो तर कामको परिणाम आएको छैन । नगरप्रमुख, उपप्रमुख र सडकले छुने वडाका वडाध्यक्षहरू स्थानीयको गुनासो सुन्न हरेक दिन कुनै न कुनै समय आन्दोलनरत क्षेत्रमा गइरहेका पनि देखिन्छन् । तर, सडकका खाडल वर्षादसँगै बढ्नेक्रम रोकिएको छैन । स्थानीयलाई आवतजावतको समस्या दशकौं यता उही गतिमा देखिन्छ ।

चन्द्रगढीको लेखनाथ चौकमा एमाले अध्यक्ष केपी ओली, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको तस्वीरमा बेपत्ता जनप्रतिनिधि लेखेर निरन्तर प्रदर्शन गरिरहेका स्थानीयले कहिले ढाट राखेर सडक अवरोध गर्दैछन् त कहिले सडकमा धान रोपेर विरोध गरिरहेका छन् । स्थानीयले पछिल्लो पटक नगर प्रमुख, उपप्रमुख र सडकले छुने वडाका वडाध्यक्षहरूलाई राखेर निर्माण कम्पनीका प्रतिनिधिलाई काम छिटो गर्न दवाव दिएका थिए ।

स्थानीयलाई सम्बोधन गर्दै नगरप्रमुख गणेश पोखरेलले आफूले नेतृत्व लिएदेखि नै चन्द्रगढी-बिर्तामोड सडको काम छिटो गराउन सडक विभाग, संघीय सरकारलाई दवाव दिइरहेको बताए । तर पनि वजेटको न्यून परिचालनका कारण काम सम्पन्न हुन नसकेको उनको भनाई हुन्छ ।

न्गरप्रमुख पोखरेलले यसवर्ष बिर्तामोड नगर क्षेत्रमा मात्र काम भएकाले भद्रपुर नगरभित्र पर्ने चन्द्रगढी क्षेत्रमा वर्षाद शुरू हुनु पूर्व खाल्डाखुल्डी पुर्न निर्माण व्यवसायीलाई भनेर २४ टिपर मिक्स गिटी हाल्ने काम भए पनि अविरल वर्षादले उस्तै समस्या आएको जानकारी दिए । उनले आगामी आर्थिक वर्षको काम चन्द्रगढी क्षेत्रबाटै गर्ने गरी सडक विभागसँग पहल गरिरहेको प्रष्ट पारे ।

उपप्रमुख राधा कार्कीले सडकका खाल्डाबाट स्थानीय आजित भएको भन्दै सडक विभाग जिम्मेवार बन्न आग्रह गरिन् ।

भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना चन्द्रगढी क्षेत्रबाट काम अगाडि बढाउन सडक आसपासका नागरिकले अदालतमा हालेको मुद्धा फिर्ता नलिइन्जेलसम्म संभव नदेखिने बताउँछन् ।

भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी सडकका लागि सरकारले न्यून वजेट पठाएका कारण निर्माण अवधिमा काम पूरा नभएर वर्षौं समस्या सहनु पर्ने बाध्यता हटाउनु पर्ने बताउँछन् ।

२०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । त्यस अवधिभित्र करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएपछि सडक डिभिजन कार्यालय दमकले पटकपटक गरी यही असारसम्म म्याद थप गरेको थियो ।

बल्लतल्ल धौला पूलदेखि देउनियासम्म ४ किलोमिटर सडकको एकापट्टी कालोपत्रे पनि देउनियाँदेखि पूर्वपट्टिको सडक खण्ड यसवर्ष निर्माण नहुने भएको छ । निर्माण कम्पनीले बजेट अभावका कारण यस वर्ष देउनियादेखि चन्द्रगढीसम्मको सडक खण्ड निर्माण सम्पन्न नहुने जनाइसकेको हो ।

जिम्मेवारी लिएका ठेकेदारले समयमै काम पूरा नगर्दा यात्रुहरूले सास्ती बेहोरिरहेका छन् । सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै निर्माण कम्पनी कन्टेक प्रालिलाई सडक डिभिजन दमकले पटक पटक स्पष्टीकरण सोधेको सो कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर