२०८१ पौष ४, बिहिवार , ०५:५०:४८ बजे

Sajhamanch
'

दाहालद्वारा लिखित पहिलो लघुकथा संग्रह ‘सनेस’ को विमोचन

आइतवार, असार २३, २०८१

बिर्तामोड । साहित्यकार एवं सताक्षीधाम साहित्य संगम झापाका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा संग्रह ‘सनेस’ को विमोचन गरिएको छ ।

सताक्षीधाम साहित्य संगम झापा र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आइतवार आयोजित कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो ।

साहित्यकार एवं पूर्वप्राज्ञ प्रा.डा. देवी नेपाल, सृजना साहित्य समूहका अध्यक्ष एवं पूर्वप्राज्ञ लघुकथाकार ध्रुव मधिकर्मी लगायतले ‘सनेस’ को विमोचन गरेका हुन् ।

सो अवसरमा साहित्यकार प्रा.डा. नेपालले दाहालको कृति लघुकथा सनेस भाषा, शैली, प्रस्तुति, संवाद सबै कोणबाट हेर्दा लघुकथाको आयाममा उत्कृष्ट रहेको चर्चा गरे ।

उनले लघुकथाभित्र दाहालले समाजको बेथितिलाई भित्रैबाट केलाउँदै सामाजिक सन्देश छरेको बताए ।

लेखक दाहाल झापाका लागि एक व्यक्ति नभई संस्था भएको चर्चा गर्दै नेपालले उनका विभिन्न कृतिमध्ये लघुकथामा पहिलोपटक कलम चलाएर पनि स–साना कमजोरीबाहेक खोट लगाउने ठाउँ नभएको बताए ।

लेखक दाहालकी पत्नी उर्मिला दाहाल आफैंमा साहित्यकार र छन्द कविता वाचनमा उत्कृष्ट पहिचान बनाउन सफल भएको भन्दै उनले सिंगो परिवार साहित्य लेखन र सहयोगमा लाग्नु खुशीको कुरा भएको बताए ।

स्रष्टा एवं लघुकथाकार मधिकर्मीले लघुकथा एकछिनको एक आयामको एउटा घटनाको छोटो आयाम भएको चर्चा गर्दै सानो किस्सामा लेखिने भए पनि यसको अर्थ, महत्व र लेखनमा धेरै मेहनत पर्ने बताए ।

लघुकथालाई सामान्य रूपमा लिन नहुने बताउँदै उनले यसमा हुनुपर्ने तत्वहरू नभए लुघकथा बन्न नसक्ने टिप्पणी गरे । लेखक दाहालको लघुकथा लेखन विस्तारै गहन रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै मधिकर्मीले लुघकथाको जगेर्नामा उनको प्रयास प्रभावकारी हुने बताए ।

सनेसका समीक्षकद्वय इन्दिरा चापागाईं र शेखर अर्यालले समाजका विकृति, विसंगति, राजनीतिक विसंगति, शिक्षा, पारिवारिक समस्या, सामाजिक, राजनीतिक एवं जातीय विभेद, सरकारप्रति व्यंग्य समेटिएको यो संग्रह भाषा र प्रस्तुति शैलीबाट समेत उत्कृष्ट रहेको बताए ।

लेखक दाहालले यसअघि १० वटा कथा संग्रह, बाल कविता संग्रह बाल संसार, कविता संग्रह, गीति संग्रह प्रकाशित गरेका छन् । उनले लघुकथाको क्षेत्रमा भने यो पहिलो प्रयास भएको बताए ।

सो अवसरमा हास्यकार डम्बर घिमिरे, बन्दना घिमिरे, लता केसी, निर्मला बराल ममता लगायतले दाहालको लघुकथा सामाजिक सन्देश प्रवाह गर्न सफल हुने चर्चा गरे ।

सनेसभित्र ६२ वटा लघुकथा संग्रहित छन् भने १५ देखि ४०० शब्दसम्मका लघुकथा छन् । कूल ८२ पृष्ठ लामो संग्रहको मूल्य रु २५० कायम गरिएको छ ।

सम्बन्धित खबर