२०८१ पौष २६, शुक्रवार , ०६:१२:१९ बजे

Sajhamanch
'

उपसभामुखको अभिव्यक्तिमाथि छानबिन गर्न कांग्रेस सांसदको माग

आइतवार, असार २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला (पौड्याल) ले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमाथि छानबिनको माग गरेकी छन् ।

आइतवार प्रतिनिधि सभाको शून्य समयमा उनले भनिन्, ‘यही असार १६ गते संसद दिवस मनाइरहँदा उपसभामुखले बोलेका भनाइहरु सञ्चारमाध्यमहरुमा आए । त्यो प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चले यही असार १६ गते संसद भवनकै लोत्से हलमा राखेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख इन्दिरा रानाले सांसदहरु संसद भवनमै निदाउने गरेको बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘‘घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीय ज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलि–अलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिं हामी सभामा नबसौं । जाग–जाग नेपाली भन्न मन लाग्यो मलाई त । सुत्नेबेला भएको छैन, सुतेर सपना नदेख्नुस् ।’

उपसभामुखको यही अभिव्यक्तिमा कांग्रेसकी सांसद पौड्यालले आपत्ति जनाउँदै छानबिनको माग गरेकी हुन् ।

सांसद पौड्यालले भनेकी छन्, ‘हामी सांसदहरुलाई जुन आरोपहरु लगाइएको छ । त्यो जायज छ कि नाजायज छ ? यसको छानबिन गर्नुपर्छ भन्ने यहाँ राख्न चाहन्छु ।’

विगतका उपसभामुखहरुको बोल्ने शैली ख्याल गर्न समेत उनले उपसभामुख रानालाई सुझाएकी छन् ।

सम्बन्धित खबर