२०८१ मंसिर १०, सोमवार , ०८:३०:३७ बजे

Sajhamanch
'

बाढी, पहिरो र डुबानबाट शुक्रवारयता देशभर १४ जनाको मृत्यु

आइतवार, असार २३, २०८१

काठमाडौं । शुक्रवार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरो लगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको मृत्यु भएको छ ।

काठमाडौंस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज विकको मृत्यु भएको थियो ।

पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका–५ का राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बस्ने जालमाया रुजाल मगर र सेतीमाया रुजालको मृत्यु भएको छ ।

त्यसैगरी, पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका–७ बस्ने हिरा नेपाली, अनिशा बास्तोला, श्याम भण्डारी, स्याङ्जा बिरुवा गाउँपालिका–६ स्याङ्दी बस्ने गुईश्वरी शर्मा मरासिनी, माधव शर्मा, हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्वतको फलेबास नगरपालिका–१ कार्किनेटा बस्ने झलकप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका–६ की रिमा सराहा राना मगर तथा दाङको लमही नगरपालिका–८ बग्रपुर बस्ने मनियम चौधरीकोसमेत पहिरोमा परी मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

बाढी र पहिरोमा परी बेपत्ता हुनेमा दोलखा गौरीशंकर गाउँपालिका–९ का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यामिरेकी खेमकुमारी मल्ल छन् ।

हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना, काठमाडौंमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर