२०८१ माघ १२, शनिवार , १२:४२:५१ बजे

Sajhamanch
'

वुमन्स एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

शनिवार, असार २२, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टीमलाई बिदाइ गरेको छ ।

श्रीलंकामा हुने एसीसी वुमन्स एसिया कप खेल्न जाने महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरेका हुन् ।

राखेप सदस्य सचिव घिसिङले गत वर्ष पुरुष क्रिकेट टीमले एसिया कप खेलेको र यस वर्ष त्यो निरन्तरता हुँदै महिला टीमले पनि खेल्न लागेको भन्दै शुभकामना दिए ।

क्यानका सचिव खड्काले एसिया कप आफ्नो क्षमता देखाउनका लागि राम्रो प्ल्याटफर्म भएको बताए । ब्याट र बलको चुनौतीलाई अवसरको रुपमा लिएर आफ्नो देशलाई कसरी जिताउने भन्ने सोच राखेर खेल्न उनले खेलाडीहरुलाई आग्रह गरे ।

महिला क्रिकेट टीम विगतदेखि प्राथमिकतामा पर्नुपर्ने जति नपरेको र अब महिला क्रिकेटलाई धेरै अवसर दिनुपर्ने सचिव खड्काले बताए । प्रमुख प्रशिक्षक मनोज कटुवालले ४५ दिनको तयारी राम्रो भएको र सबैले मेहनत गरेको बताए ।

कप्तान इन्दु बर्माले पाएको समय र स्रोतअनुसार राम्रो तयारी गरिएको बताइन् । मनसुनको समय भए पनि इनडोरमा तयारी राम्रो भएको उनको भनाई छ । उनले श्रीलंका गएर अभ्यास खेलहरु समेत खेल्ने जानकारी दिइन् ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोली एसिया कप खेल्न आइतवार श्रीलंका जानेछ । महिला एसिया कप १९ जुलाइबाट शुरु हुनेछ । नेपालले समूह चरणमा युएई, पाकिस्तान र भारतसँग खेल्नेछ ।

सम्बन्धित खबर