काठमाडौं । मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ ।
शुक्रवारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यस्तो बताएका हुन् ।
उनले नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका बताए । उनले पहिरोबाट २४ जनाको मृत्यु र १९ जना घाइते भएका र ७७ ठाउँको भारी वर्षाका घटनाबाट ४ जना घाइते भएका बताए ।
कूल २८ जनाको मृत्यु, एक जना बेपत्ता र २५ जना घाइते भइ ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको मन्त्री अर्यालले उल्लेख गरे । उनले चट्याङबाट ३२ जिल्ला प्रभावित भइ ९३ वटा चट्याङका घटना भएका र जसबाट १९ जनाको मृत्यु, ३५ जना घाइते भएका बताए ।
मन्त्री अर्यालले सबै विपद्का घटनाबाट १७१ पशुचौपायाको क्षति भएको बताए । उनले विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भइ कार्यान्वयनमा ल्याइएको बताए ।
मन्त्री अर्यालले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम आकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुनेगरी विभिन्न निकायलाई क्षेत्रगत रुपमा जिम्मेवारी तोकिएको बताए ।