२०८१ कार्तिक ५, सोमवार , ०५:१४:५२ बजे

Sajhamanch
'

एक व्यक्ति एकभन्दा बढी सहकारीमा सञ्चालक हुन नपाउने

बिहिवार, असार २०, २०८१

काठमाडौं । अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अर्को संस्थाबाट सञ्चालक पद छाड्न सहकारी विभागले निर्देशन दिएको छ ।

कुनै व्यक्ति दुई वा त्योभन्दा बढी संस्थाको सञ्चालक रहेको भए ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राख्न विभागले हिजो निर्देशन दिएको हो । अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।

सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकाले यसको पूर्ण पालना गर्न विभागले भनेको छ । यस्तै ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यको बचत रकम समयमा फिर्ता गर्नेतर्फ लाग्न पनि विभागको निर्देशन छ ।

परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरूलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्याङ्कन गरी सुविधा दिन पनि विभागले भनेको छ । त्यस्ता सदस्यको माग, आवश्यकता र औचित्यसमेतका आधारमा अघिल्लो वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीको हकमा मात्र कर्जामा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने विभागको निर्देशनमा उल्लेख छ । तर यसरी कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने स्पष्ट आधार प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ ।

यसरी लेखाङ्कन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न नपाइने साथै पुनर्तालिकीकरण गरेबापत ऋणी सदस्यबाट कुनै प्रकारको शुल्क वा हर्जना लिन नपाइने व्यवस्था विभागले गरेको छ । पुनर्तालिकीकरण गरिएका कर्जाको किस्ता लगातार छ महिनासम्म नियमित भएपश्चात् त्यस्ता कर्जाको कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक गरिएको रकम मात्र छुट्याई सञ्चित मुनाफा खातामा लेखाङ्कन गर्न सकिने विभागले जनाएको छ ।

यस्तै आफ्ना सदस्यसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तीय साक्षरता अभिवृद्धि र सदस्य केन्द्रित सेवा प्रवाहमार्फत सदस्यको विश्वास आर्जनमा केन्द्रित हुनेगरी काम गर्न पनि विभागले सहकारी संस्थालाई आग्रह गरेको छ ।

सम्बन्धित खबर