२०८२ जेठ १२, सोमवार , ०९:०६:११ बजे

Sajhamanch
'

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित

बिहिवार, असार २०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ।ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपा संस्थापन पक्षको प्रष्टीकरण छ।

बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए। ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवाद सतहमा आएको थियो। बुधबार मध्यरातसम्म बसेको केन्द्रीय समिति बैठकले ढकाललाई निलम्बन गरेको हो।

जनताको कुरा बोलेकै आधारमा निलम्बन गरियोः डा‍. ढकाल

डा. ढकालले भने आफूलाई बोलेकै आधारमा सभापति लामिछानेले निलम्बन गरेको प्रतिक्रिया दिएका छन्। बुधबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो धारणा राखेका हुन्।‘विगत लामो समयदेखि परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो। पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नुपर्छ लाग्यो र बोलेँ। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले मिडियाबाजी गर्न बाध्य भएँ’, उनले लेखेका छन्।

पार्टीमा जनताको आवाज बोल्दा सभापतिविरुद्ध बोलेजस्तो हुने गरेको उनले उल्लेख गरेका छन्। ढकालले लेखेका छन्, ‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ।’

सम्बन्धित खबर