२०८१ माघ १०, बिहिवार , ०६:२०:०८ बजे

Sajhamanch
'

कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता

बुधवार, असार १९, २०८१

काठमाडौं । सप्तकोशी नदीमा बहाव बढेसँगै सुनसरी र सप्तरीका स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई ख्याल गरेर तटीय भेगमा सतर्कतासहित पूर्वतयारीको काम गरेको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेज पर्ने सुनसरी र सप्तरी दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले नदीमा आउनसक्ने बाढीको अनुमान गर्दै सूचना सम्प्रेषण र विपद् पूर्वतयारीको कामलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ । प्रशासनले कोशीमा डुङ्गा चलाउन र माछा मार्न रोक लगाएको छ ।

बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णयसमेत गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा केही दिनयता २ लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ । सप्तकोशीको जलस्तर बढ्दा पछिल्ला केही वर्षयता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ ।

भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारतसँग आग्रह गर्नुपर्ने हुन्छ । ढोका खोल्न ढिला हुँदा बर्सेनि नेपाली भू– भाग डुबानमा पर्ने गरेको छ ।

सम्बन्धित खबर