२०८१ कार्तिक ५, सोमवार , ०७:०१:११ बजे

Sajhamanch
'

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।

बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन्। प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन्।

बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए।

‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन, विश्वास मत लिने प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ,’ पौडेलले भने, ‘कांग्रेस, रास्वपा, एमालेलगायत दलसँग पनि संवाद गर्ने कुरा भएको छ।’ उनले के विषयमा संविधान संशोधन गर्ने हो भन्ने कुरा बुझ्न बाँकी रहेको पनि बताए।

‘पछिल्ला परिवर्तन उल्टने त होइनन्? कतै २०४७ को संविधान उल्टाउन खोजिएको त होइन?,’ उनले भने, ‘यसबारे हामी विभिन्न पक्षसँग छलफल गर्छौं।’