२०८१ पौष ८, सोमवार , ०१:४४:४० बजे

Sajhamanch
'

भाषाविद् चुडामणि रेग्मीलाई मस्तिष्कघात

मङ्गलवार, असार १८, २०८१

भद्रपुर । झर्रोवादका संस्थापक तथा पूर्वका मोतिरामको उपनामले परिचित साहित्यकार तथा पत्रकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ ।

भद्रपुर–१० चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार एवं झापाका पहिलो पुस्ताका पत्रकार उनलाई शनिवार राति सुतेकै अवस्थामा मस्तिष्कघात भएको पारिवारिक स्रोतले जनाएको छ ।

शनिवार राति क्रिकेट हेरेर सुतेका रेग्मीलाई बिहानीपख मस्तिष्कघात भएपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको छोरा प्रदीपमणि रेग्मीले जानकारी दिए ।

उपचारका क्रममा उनलाई अझै दुईदिन चिकित्सकहरुको निगरानीमा राख्नुपर्ने रेग्मीका नातिसमेत रहेका डा.रविन रेग्मीको भनाई छ । उनी झर्रो नेपाली आन्दोलनका संस्थापक मध्येका एक हुन् भने नेपाली भाषाको खोज अनुसन्धान गर्ने भाषाविद् समेत हुन् ।

रेग्मीले वि सं २०२६ सालबाट झापामा युगज्ञान साप्ताहिक सम्पादन प्रकाशन शुरु गरी पत्रकारका रुपमा झापामा स्थापित भएका थिए । प्रगतिशील चेतना प्रवाह गर्ने उनले तत्कालीन शासकबाट प्रताडित समेत बन्नुपरेको थियो ।

भाषा, साहित्य सम्बद्ध दर्जनौं कृति प्रकाशन गरी नेपाली भाषा साहित्यका क्षेत्रमा विशिष्ट योगदान गरिरहेका रेग्मी नेपालकै धरोहर मानिन्छन् ।