२०८१ माघ १२, शनिवार , ०३:३२:४८ बजे

Sajhamanch
'

जनताको मनोविज्ञान बुझ्न र सम्बोधन गर्न जरुरी छ : नेता दाहाल

सोमवार, असार १७, २०८१

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जनताको मनोविज्ञान बुझेर बजेट बनाउने र कार्यान्वयन गराउनेतर्फ सरकार र सांसदहरुले ध्यान दिनुपर्ने बताएका छन् ।

सोमवार राष्ट्रिय सभामा मन्त्रालयगत बजेट माथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

‘आफ्नो क्षेत्रमा प्रशस्त बजेट दिनुपर्छ, विकासका योजना दिनुपर्छ’ भन्ने नागरिकको मनोविज्ञान र अपेक्षा हुने गरेको भन्दै नेता दाहालले त्यसलाई सम्बोधन गर्न चुनौतीपूर्ण रहेकोसमेत उल्लेख गरे ।

निर्वाचनका क्रममा ‘म राम्रो कानून बनाउन जान्छु, त्यसैले मलाई भोट दिनुहोस्’ भनेर भन्ने चलन पनि कम रहेको भन्दै उनले नागरिकको मनोविज्ञान बुझ्न र बुझाउन पनि खाँचो रहेको उल्लेख गरे ।

बजेट निर्माण प्रक्रियामा सांसदहरुलाई संलग्न किन गराउने भन्ने विषयतर्फ छलफल गर्न जरुरी रहेको भन्दै नेता दाहालले बजेटलाई समानुपातिक रुपमा वितरण गर्न योजना तर्जुमा र छलफल प्रक्रियालाई प्रभावकारी बनाउन सुझावसमेत दिए ।

बजेट तथा योजना तर्जुमा प्रक्रियालाई कार्यसूची अनुसार प्रभावकारी र सहभागितामूलक बनाउनुपर्ने भन्दै उनले मन्त्रीहरुका क्षेत्रमा मात्र योजना र बजेट बढी विनियोजन भयो भन्ने गुनासो अन्त्य गरिनु पर्नेमा जोड दिए ।

परम्परागतभन्दा वैज्ञानिकविधि अपनाइनुपर्ने भन्दै नेता दाहालले बजेट माथिको छलफललाई अर्थहिन हुनबाट जोगाउनुपर्ने धारणा राखे ।

सत्तापक्षीय संसदीय दलका नेतासमेत रहेका उनले बजेट पेश भएपछि हुने छलफललाई बजेटमाथि सांसदको धारणा, मन्तव्य जे भने पनि आलोचना गर्ने मात्र नभई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिए ।

तर, सरकारले पनि बजेटमाथि सांसदहरुले राखेका धारणालाई गम्भीर रुपमा लिनुपर्ने नेता दाहालको भनाई थियो ।

बजेटमाथि सांसदहरुले राखेका धारणा व्यर्थ हुन्छन् भने बरु कानूनै बनाएर सरकारले बजेट बनाउने र अर्थमन्त्रालयले जारी गर्ने व्यवस्था गरे पनि हुने उनले बताए ।

बजेट माथिको छलफललाई उपलब्धिमूलक बनाउन र सांसदहरुका सुझाव लिने प्रक्रिया बलियो बनाउनुपर्ने नेता दाहालको टिप्पणी थियो ।

सम्बन्धित खबर