२०८१ पौष २६, शुक्रवार , १०:२४:५६ बजे

Sajhamanch
'

बिर्तामोडमा ‘मेयरसँग व्यवसायी’ कार्यक्रम : नगरलाई व्यवसायीको हितमा काम गर्न सुझाव

आइतवार, असार १६, २०८१

बिर्तामोड । बिर्तामोडका व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नुपर्ने आवाज उठाएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले व्यवसायीको संरक्षण गर्नुपर्ने र व्यवसायीहरुको हितमा कार्यक्रम ल्याउनुपर्ने माग समेत गरे ।

राज्यलाई सबैभन्दा धेरै कर व्यवसायीले तिर्ने गरेको भएपनि व्यवसायीको हितमा स्थानीय सरकारले कार्यक्रम ल्याउन नसकेको भन्दै उनीहरुले दुःखेसो पोखे ।

कार्यक्रममा अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले कृषिजन्य वस्तुमा संघीय सरकारले छूट दिएपनि स्थानीय सरकारले कृषिजन्य वस्तु निर्यातमा कर लिएको र त्यसलाई हटाइनुपर्ने माग राखे ।

महिला उद्यमी पार्वता खरेल (विमली) ले बिर्तामोडलाई प्लाष्टिक मुक्त बनाइनुपर्ने र महिला व्यवसायीलाई स्थानीय सरकारले उद्यमशीलतामा जोड्दै लानुपर्ने धारणा राखिन् ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले व्यवसायीको संरक्षण गर्दै उनीहरुको सुरक्षाका लागि सडक किनारमा सडक बत्ती जडान गर्नुपर्ने बताए ।

त्यस्तै, अग्रसेन भवन बिर्तामोडका अध्यक्ष मोहन मित्तलले करको क्षेत्रमा नगरपालिका लचिलो बन्नुपर्ने र सबै व्यवसायीलाई करको दायरमा ल्याउनुपर्ने बताए । कर तिर्ने व्यवसायीलाई स्थानीय सरकारले सम्मानजनक व्यवहार गर्नुपर्ने उनको धारणा थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै भने, ‘बिर्तामोड नगरपालिकाले व्यवसायीको हित हुने गरीका कार्यक्रम ल्याउन नगरप्रमुखलाई अनुरोध गर्छु । संघको तर्फबाट गर्नुपर्ने सहयोग गर्न प्रतिबद्ध छु ।’

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतारा प्रसाईंले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै व्यवसायीहरुका उचित मागलाई सम्बोधन गर्ने बताएकी थिइन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार थापा, बलराम कार्की, व्यवसायी गणेश पौडेल, ओमकृष्ण विमली लगायतले धारणा राखेका थिए ।

सम्बन्धित खबर