२०८१ माघ १३, आइतवार , ०५:५४:५२ बजे

Sajhamanch
'

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम : कमल गाउँपालिका र करुणा फाउण्डेशनबीच सम्झौता

शुक्रवार, असार १४, २०८१

कमल । कमल गाउँपालिका र करुणा फाउण्डेशन नेपालबीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी), प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, फाउण्डेशनका तर्फबाट निर्देशक योगेन्द्र गिरी, व्यवस्थापक सन्तोष घिमिरे, पालिका संयोजक रुविना थापा र कमल अपाङ्गता समिति अध्यक्ष पिताम्बर खड्काले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि गाउँपालिका अध्यक्ष राईले आफ्नो पालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि पालिकाको बजेट र स्रोत साधनले भ्याएसम्म काम गर्दै आएको बताए ।

विद्यालय तहमा भने काम गर्न समस्या रहेको उल्लेख गर्दै उनले अपाङ्गताको क्षेत्रमा आगामी कार्यक्रम सञ्चालन गर्न अब सहज हुने आशा व्यक्त गरे ।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष तिवारीले कार्यक्रम कार्यान्वयनमा आएसँगै अपाङ्गता भएका व्यक्तिलाई पुनःस्थापना र अपाङ्गता रोकथाम तथा पुनःस्थापना गर्न ठूलो सहयोग पुग्ने बताइन् ।

यसैगरी, फाउण्डेशनका निर्देशक गिरीले अपाङ्गता भएका व्यक्तिलाई आम नागरिक सरह सहज जीवन जिउन सघाउ पुर्याउने उद्देश्यले सो पालिकामा कार्यक्रम सञ्चालन गरिएको बताए ।

त्यसक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य मदन बोहोराले महासङ्घले अपाङ्गता अधिकारसम्बन्धी बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, नियमको पालना गर्दै अपाङ्गता भएका व्यक्ति रहेका पालिकासँग सहकार्य गरी काम गरिरहेको जानकारी गराए ।

सो अवसरमा कमल अपाङ्गता समितिका अध्यक्ष खड्काले उक्त पालिकामा १ हजार १३० जना अपाङ्गता भएका व्यक्ति रहेकामध्ये ७ जनाको मात्रै अपाङ्गता परिचय पत्र बनेको बताए ।

सो पालिकामा तीमध्ये विद्यालय जाने उमेरका ९९ जना रहेपनि १६ जना मात्र विद्यालय जाने गरेका उनले बताए ।

त्यसैगरी, फाउण्डेशनका व्यवस्थापक घिमिरेले जन्मजात हुने अपाङ्गता न्यूनीकरण, जन्मिएपछि विकसित हुने अपाङ्गताको रोकथाम, अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना लगायत कार्यक्रम सञ्चालन गरिने बताए ।

सो कार्यक्रममा कार्यपालिका सदस्यहरू, पालिकाका विभिन्न शाखाका प्रमुखहरू, अपाङ्गता भएका व्यक्तिहरूको समूहका प्रतिनिधिहरू, राष्ट्रिय अपाङ्ग महासङ्घका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

शिक्षा शाखाका प्राविधिक कर्मचारी रविन गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले शाब्दिक स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, सो पालिका र अपाङ्गताको क्षेत्रमा कार्यरत फाउण्डेशनको त्रिपक्षीय लागत साझेदारीमा कार्यान्वयन हुने कार्यक्रममा प्राविधिक सहयोग राष्ट्रिय अपाङ्ग महासंघ नेपालले गर्ने छ ।

सम्बन्धित खबर