२०८१ पौष २७, शनिवार , १०:१७:४२ बजे

Sajhamanch
'

सबै वडामा समानुपातिक बजेट विनियोजन गरेका छौँ : बिर्तामोड नगरप्रमुख प्रसाईं

बिहिवार, असार १३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरिएको बताएकी छन् ।

नगरको १० नम्बर वडा कार्यालयको सभाहलमा बिहीवार आयोजित आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

बिर्तामोडमा कुनै प्राकृतिक स्रोत नभएका कारण आम्दानी थोरै हुने गरेकाले उठेको बजेटलाई समानुपातिक ढंगले वितरण गर्दै आइएको नगरप्रमुख प्रसाईंले स्पष्ट पारिन् ।

संघीय सरकारले लगाएको ठेक्कामा विभिन्न प्रकारका समस्या आउने गरेको उल्लेख गर्दै उनले समयमा काम नहुने, ठेकेदार सम्पर्कमा नआउने लगायतका समस्या रहेको बताइन् ।

पालिकाले लगाएको ठेक्कामा भने त्यस्तो कुनै पनि समस्या नरहेको उनको भनाई थियो । सहभागीहरुका जिज्ञासामा नगरप्रमुख प्रसाईंले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेको बताइन् ।

धनिपुर्जा दिने अधिकार पालिकालाई नरहेको भन्दै उनले समस्या समाधानको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिइन् । नगरप्रमुख प्रसाईंले अधुरा योजना चाँडै पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले टोलविकास संस्थाको काम कर्तव्य र अधिकार, भौतिक पूर्वाधार, कृषि औजार खरिद तथा वितरण, सुकुम्बासी समस्या, खानेपानी, पर्यटन, अपूरा योजना, प्रशासनिक र प्राविधिक समस्या, महिला हिंसा, स्वास्थ्य बीमा लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

त्यसक्रममा नगरप्रमुख प्रसाईं, वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङ र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले सहभागीहरुको जिज्ञासा प्रस्ट्याउँदै जवाफ दिएका थिए ।

सो कार्यक्रमको सहजीकरण झापा युनेस्को संघका प्रतिनिधि विजय तिम्सिनाले गरेका थिए ।

सम्बन्धित खबर