जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका, कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागू गरिएको हो ।
पालिकाले ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई वार्षिक रु चार हजारका दरले भत्ता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।
सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित पुरुष बाहेक अन्य एकल पुरुषका लागि गरिएको उक्त कार्यक्रममा रु.४ लाख बजेट विनियोजन गरिएको उनको भनाई छ ।