झापा । पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको ज्यान गएको छ । मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गएराति तितेपानीका प्रकाश रानाभाटको घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्मा रानाभाटको ज्यान गएको हो । हजुरआमा ७० वर्षीया लालमायालाई सकुशल उद्धार गरिएको छ ।
त्यस्तै आरुपाटाका हरि सुनारको घर पुरिँदा छोरा अनमोलको ज्यान गएको हो । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते हुनुभएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरि सुनार र छोरी ९ वर्षकी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।
यस्तै लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले तीन घर पुरेको छ । पहिरोमा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरेको गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले जानकारी दिए।
पहिरोमा रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र छोरीहरु पाँच वर्षीया नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए। बेपत्ताको खोजी भइरहेको छ । थप विवरण आउन बाँकी छ ।