२०८१ माघ १४, सोमवार , ०४:४४:५४ बजे

Sajhamanch
'

गौरादहमा ‘समुदायमा अदालत’ कार्यक्रम : न्याय प्रणाली बुझेर बुझाउन न्यायाधीश–सहभागी अन्तर संवाद

मङ्गलवार, असार ११, २०८१

गौरादह । गौरादह नगरपालिकामा मंगलवार ‘समुदायमा अदालत’ नामक एक दिवशीय कार्यक्रम आयोजना गरिएको छ ।

झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यतामा न्यायीक प्रक्रियामा नागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो ।

जिल्ला अदालत झापाद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख न्यायाधीश बस्नेतले अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहको प्रक्रिया, निःशुल्क कानूनी सहायता, एसएमएस सेवा, अनलाइन तारेख, अदालतबाट १ घण्टाभित्र प्रवाह हुने सेवा, मुस्कानसहितको सेवा प्रवाह, मेलमिलाप लगायत विषयबारे सहभागीलाई जानकारी गराएका थिए ।

अदालत र समुदायबीचको दोहोरो संवाद कार्यक्रमले अदालतप्रति बेलाबखत उब्जिने गरेका भ्रम हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको गौरादह नगरप्रमुख छत्रपति सुवेदीले बताए ।

सो कार्यक्रमबाट अदालतले प्रवाह गर्ने सेवा र प्रक्रियाबारे समुदाय सुसूचित भई न्यायमा पहुँच बढ्ने नगर उपप्रमुख जलवर्षा राजवंशीले विश्वास व्यक्त गरिन् ।

यी र यस्ता प्रभावकारी कार्यक्रमले सेवाग्राही र अदालतबीचको सम्बन्ध सुमधुर हुँदै कार्यसम्पादन प्रक्रिया सहज हुने नगरका प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडाले बताए ।

अदालतसँग समुदायले राखेको अपेक्षा बुझ्न र अदालतप्रतिको भ्रम निवारण गरी अदालतप्रति जनविश्वास बढाउन उक्त कार्यक्रम गरिएको जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।

न्यायाधीशसमक्ष न्यायपालिकासम्बन्धी समस्या, गुनासा एवं जिज्ञासा राख्ने र सहभागीले बुझेपछि अभिभावकलाई न्याय प्रणालीबारे बुझाउने लक्ष्यले अन्तर संवादसमेत भएको जनाइएको छ ।

त्यसक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र झापा संयोजक संगीता थापा, चेतराज विष्ट, अदालतका नायब सुब्बा सागर बुढाथोकी लगायतको उपस्थिति थियो ।

सो अवसरमा गौरादह नगरका विभिन्न वडाका मेलमिलापकर्तासहित ५० जनाबढी सरोकारवालाहरु सहभागी थिए ।