२०८१ माघ १४, सोमवार , १२:४२:५८ बजे

Sajhamanch
'

महिला लक्षित अभिव्यक्तिप्रति मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह

सोमवार, असार १०, २०८१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेकी छन् ।

आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि गरिएको विनियोजनका सम्बन्धमा सोमवार प्रतिनिधिसभामा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले आपत्ति जनाएकी हुन् ।

‘गत जेठ ३१ गते सदनमा संशोधन गर्ने क्रममा केही माननीय ज्यूहरूले महिलाहरू असक्षम र संकीर्ण सोच भएका हुन्छन् । सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था हुँदैनथ्यो भन्ने गरी दिएको अभिव्यक्ति तथा वैवाहिक बलात्कार जस्तो जघन्य अपराधबारे बोल्दै गर्दा महिलाहरूलाई कसैको रहर पूरा गर्न मनोरञ्जनको साधन तथा उपभोग्य वस्तुको रूपमा मात्र चित्रण गरिने गरी दिएको अभिव्यक्तिले सम्पूर्ण महिलाको आत्मसम्मान र मर्यादालाई अवमूल्यन गरेको छ’, मन्त्री चौधरीले भनिन् ।

उनले सांसदबाटै व्यक्त यस प्रकारको अभिव्यक्तिले आम महिलाको आत्मसम्मानमा चोट पुगेको भन्दै उक्त अभिव्यक्तिप्रति आत्मालोचित हुन सम्बन्धित सांसदलाई आग्रह गरेकी छन् ।

“महिलालाई हेर्ने यस प्रकारको विभेदकारी तथा संकीर्ण सोच हाम्रो साझा शत्रु हो । यसलाई परास्त गर्नु हाम्रो साझा कर्तव्य हो । यसले हामीले सुधार गर्नुपर्ने भनी प्राथमिकतामा राखेका हानिकारक अभ्यासहरूलाई नै मलजल गर्ने काम गरेको महसुस भएको छ” मन्त्री चौधरीले भनिन्, “यस प्रकारका अभिव्यक्तिबाट आम महिलाको आत्मसम्मानमा पुगेको चोटप्रति सम्बन्धित माननीय ज्यूहरू आत्मालोचित हुनुहुने छ भन्ने विश्वास लिएको छु ।”

सम्बन्धित खबर