२०८१ पौष २७, शनिवार , ०९:२९:०३ बजे

Sajhamanch
'

अजोड इन्स्योसेन्स विरुद्ध अदालतको अवहेलनामा पत्रकार महासंघ मोरङद्वारा मुद्धा दर्ता

सोमवार, असार १०, २०८१

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ ।

कोरोना बीमा बापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बीमा कम्पनीका नाममा २०७९ जेठ १६ मा परमादेश जारी गरे पनि अदालतको आदेशको अबज्ञा गरेपछि पत्रकार महासंघ मोरङले आज अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्धा दर्ता गरेको सचिव नेत्र पी अधिकारीले बताएका छन् ।

न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (२) ले उच्च अदालतले आफ्नो र मातहतको अदालत वा न्यायिक निकायको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारवाही चलाउन सक्ने कानूनी व्यवस्था गरेको छ ।

२०७९ जेठ १६ मा परमादेशको आदेश जारी भइसकेको अवस्थामा विपक्षीहरूले सो आदेशको अवज्ञा गरी सम्मानित अदालतको गरिमालाई ठेस पुर्याउने र अदालतको काम कारवाहीप्रति जनतामा अविश्वास फैलाउने कार्य गरेकाले अवहेलनामा मुद्धा दर्ता गरिएको नेपाल पत्रकार महासंघ मोरङका सचिव अधिकारीले जानकारी दिए ।

परमादेशको आदेशको अवज्ञा गरी विपक्षीहरूले जनताको आस्थाको धरोहरको रूपमा रहेको स्वतन्त्र न्यायपालिकाको गरिमामा आँच पुर्याउने, अदालतप्रति अनास्था उत्पन्न गराउने प्रयास गरी अदालतको आदेशलाई कागजी न्यायमा सीमित गराउने प्रयास गरिएकाले विपक्षीहरूलाई झिकाई न्याय प्रशासन ऐन वमोजिम हदैसम्मको जरीवाना तथा कैद सजाय गरी पाउँ भनी माग गरिएको सचिव अधिकारीले बताए ।

न्याय प्रशासन ऐन २०७३ दफा १७ (४) बमोजिम १ वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै हुने व्यवस्था रहेको उच्च अदालत विराटनगरका उपरजिष्ट्रार टिकेन्द्र जङ्गवीर राणाले बताए ।

अदालतको अवहेलनामा मुद्धा दर्ता गर्नुअघि उच्च अदालत विराटनगर गत वैशाख २४ गते निवेदकको माग बमोजिम निर्णय कार्यान्वयनका लागि पत्र पठाए पनि सो को पनि अवज्ञा गरेपछि अवहेलनामा मुद्धा दर्ता गरेको पत्रकार महासंघ मोरङका सचिव अधिकारीले जानकारी दिए ।

२०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालिन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बीमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्ना सदस्यहरूको कोरोना बीमावापतको रकम भुक्तानीका लागि परमादेश माग गर्दै २०७८ भदौ २१ मा उच्चमा रिट दायर गरेको थियो ।

कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई २०० भन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बीमा गरिएको थियो ।

त्यसमध्ये ५३ जना बिमित पत्रकार संक्रमित भएकोमा २० जनाले मात्र बीमा दावी भुक्तानी पाएका थिए । अझै ३३ जनाले भुक्तानी पाउन बाँकी छ ।

कोरोना बीमा गरेका मोरङका पत्रकारले सम्झौता अनुसारको रकम भुक्तानी नपाएपछि सोमबार नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दर्ता गराएको हो ।

अजोड इन्स्योरेन्सले जारी गरेको बीमालेख तोकिएको अवधिसम्म कुनै पनि हालतमा खारेज गर्न नसकिने, पिसिआर टेस्ट पजिटिभ देखिएमा संक्रमित व्यक्तिलाई एक लाखसम्मको दाबी भुक्तानी दिने, बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्ने र बिमितले रितपूर्वक निवेदन दिएको सात दिनभित्र रकम भुक्तानी दिने सम्झौता गरेको थियो ।

कम्पनीको नियमअनुसार आवश्यक प्रिमियम तिरेर बीमा गरेका बिमितलाई भुक्तानी दिन नसकिने भन्ने गैरजिम्मेवार जवाफ दिएपछि नेपाल पत्रकार महासंघले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै २०७८ साउन ३२ मा रिट दायर गरेको थियो ।

सम्बन्धित खबर