झापा । आज असार १० गते, स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यताको दिन । सोही अनुसार मुलुकका सबैजसो पालिकाहरुले संविधानको पालना गरेका छन् ।
सोक्रममा कतै पालिकाको बजेट सर्वसम्मत पारित गरिएको छ भने कतै जनप्रतिनिधिबीच नै हात हालाहालको स्थिति सिर्जना भएको छ ।
प्राप्त पछिल्लो समाचार अनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभाको बैठकमा झडप भएको सञ्चारमाध्यमहरुमा उल्लेख छ ।
नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको बैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।
यसअघि मेयर राजन पौडेल निकट दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गर्दै आएका थिए ।
त्यही कारण ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो ।
सोमवार मेयर राजन पौडेलले बैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए ।
उपमहानगरका एक जनप्रतिनिधिका अनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादी अन्तिम समयमा नगरसभा बैठकका लागि सहमत भएका थिए । तर, एमाले र लोसपा सहमत नहुँदा झडपको स्थिति आएको हो ।
नगरसभामा झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नगरसभा सञ्चालन हुन नसकेको जनाइएको छ । यता, झापाको दमक, कनकाई र भद्रपुर नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेका छन् ।
अहिलेसम्म ४१ वटा स्थानीय तहले बजेट पेश गरेको तथ्यांक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दर्ता गराएका छन् । ७१२ स्थानीय तहले बजेट पेश गरिसकेका छैनन् । केहीले पेश गर्ने तयारी गरिरहेका बताइएको छ ।