२०८१ पौष २४, बुधवार , ०९:२५:३९ बजे

Sajhamanch
'

कोशीको ४३ उद्योगमा १७ हजार ७०० जनाले पाए रोजगारी

सोमवार, असार १०, २०८१

विराटनगर । कोशी प्रदेशमा रहेको ४३ वटा उद्योगबाट १७ हजार ७२० जनाले रोजगारी पाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको प्रदेशगत आर्थिक गतिविधि अध्ययनले यो क्षेत्रमा उद्योगले दिने रोजगारीको संख्या बढेको देखाएको छ ।

सुनसरी र मोरङ जिल्लाका उद्योगहरूमा क्रमशः २.६ प्रतिशत र ०.२ प्रतिशतले थप रोजगारी सिर्जना भएको छ भने भने इलाम, झापा र उदयपुर जिल्लामा रहेका उद्योगहरूबाट क्रमशः १४.७ प्रतिशत, ९.४ प्रतिशत र ८.४ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।

औद्योगिक रोजगारीमा पुरुषको संख्या ६८.४ प्रतिशत र महिलाको संख्या ३१.६ प्रतिशत रहेको छ । अध्ययन क्षेत्रका उद्योगहरूमा कुल औद्योगिक रोजगारीको ९२.४ प्रतिशत श्रमिक स्वदेशी र ७.६ प्रतिशत श्रमिक विदेशी रहेका छन् ।

विशेष गरी फलामको छड, पत्ति तथा सामान, इँटा, धागो र जुटका सामान उत्पादन गर्ने उद्योगहरूमा तुलनात्मक रूपमा अन्य उद्योगहरूमा भन्दा बढी अनुपातमा विदेशी कामदारहरूलाई रोजगारी प्रदान गरिएको देखिन्छ । यो क्षेत्रमा क्षेत्रगत औद्योगिक कर्जा १ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ ।

यस प्रदेशको पहिचानको रूपमा रहेको चियाको निर्यात भारतीय बजारमा मात्र केन्द्रित हुँदा बजार जोखिम उच्च रहेको छ ।

भारतबाट बेला बेलामा निर्यातमा अवरोध सिर्जना हुने गरेकोले बजार विविधीकरण लागि विश्व बजारमा चियाको नयाँ गन्तव्य मुलुकहरूको खोजी गर्नु आवश्यक रहेको केन्द्रीय बैंकले भनेको छ ।

कोशी प्रदेशको बैंक तथा वित्तिउ संस्थाले ४ खर्ब ३८ अर्ब निक्षेप रिचालन गरेका छन् भने कर्जा प्रवाह ५ खर्ब ३१ अर्ब पुगेको छ । यो प्रदशेमा निक्षेपकर्ताको संख्या ७२ लाख ६२ हजार पुगेको छ भने ऋणीहरुको संख्या २ लाख ५४ हजार पुगेको छ । यसमध्ये सहुलियतपूर्ण कर्जा ३३ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ । प्रदेशको आर्थिक वृद्धि ३.५१ प्रतिशत रहने अनुमान रहेको छ ।

कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा ३३.२ प्रतिशत, उद्योग क्षेत्रको १५.९ प्रतिशत र सेवा क्षेत्रको ५०.९ प्रतिशत योगदान रहने अनुमान रहेको छ ।

सम्बन्धित खबर