२०८१ माघ १४, सोमवार , ०७:४०:४८ बजे

Sajhamanch
'

सहजीकरण समितिले थाल्यो कर्मचारीसँग वार्ता

सोमवार, असार १०, २०८१

काठमाडौं । आन्दोलनरत संघीय संसद्का कर्मचारीहरूको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारद्वारा गठित समितिले छलफल थालेको छ ।

समितिले सोमवार कर्मचारी युनियनका प्रतिनिधिसँग छलफल शुरु गरेको हो । नेकपा एमाले सचेतकको कार्यालयमा जारी बैठकमा राष्ट्रिय सभाका सचिवको समेत उपस्थिति छ ।

आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेतासहितको बैठकले कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको थियो ।

समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसद्का महासचिव सदस्य छन् । कर्मचारीहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।

सरकारले कर्मचारीको माग संशोधनका लागि सहजीकरण समिति बनाउँदैमा आन्दोलन नरोकिने संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासे जैसीले बताए ।

कर्मचारीहरूले अतिरिक्त समयमा काम गरेको अतिरिक्त भत्ता, घरभाडा बापतको भत्ता वृद्धि लगायतका ११ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

सम्बन्धित खबर