२०८१ पौष २५, बिहिवार , ०५:५९:५० बजे

Sajhamanch
'

‘एक कृषि सहकारी एक गोदाम घर अनिवार्य गरिनु पर्छ’ : महाप्रबन्धक भट्टराई

सोमवार, असार १०, २०८१

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक कृषि सहकारी एक गोदाम घर अनिवार्य आवश्यक रहेको बताएका छन् ।

प्रथम सहकारी रोजगार मेलामा आइतबार उनले प्रस्तुत गरेको ‘नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड : रोजगारीको अवस्था र आगामी सम्भावनाहरु’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

महाप्रबन्धक भट्टराईले भने, ‘एक सहकारी एक गोदाम हुनुपर्छ । हाम्रा किसानहरुले उत्पादन गरेको वस्तुहरु राख्ने ठाउँ छैन । यसले गर्दा पनि उनीहरुले विचौलियाहरुलाइ तुरुन्तै उत्पादन बिक्री गर्नुपर्ने बाध्यता छ ।’

त्यस्तै उनले सरकारले एक पालिका एक कृषि बजार बनाउनु पर्ने पनि माग राखे । ‘कृषि क्षेत्रमा बजारको पनि अभाव रहेको छ । सरकारले एक पालिका एक कृषि बजार बनाउनु पर्छ । यसो गर्न सकिएमा हाम्रा उत्पादनहरुले बजार खोज्दै भौतारिनु पर्ने थिएन ।’

सरकारले पर्याप्त मल र गुणस्तरीय बिउको व्यवस्था नगरेसम्म उत्पादन बढाउन नसकिने उनको भनाई छ । ‘हाम्रामा उत्पादन भएका वस्तुहरुको समर्थन मूल्य तोक्नका लागि ढिला गर्ने गरिएको छ । उत्पादनको समर्थन मूल्य बाली लगाउनु पहिले तोक्नु पर्छ । समर्थन मूल्य अगाडि नै तोकेमा किसानहरुले उत्पादन गर्न जोड दिन्छन्’ उनले प्रष्ट पारेका छन् ।

सहकारी मर्जरमा जानुपर्ने विषयमा उनले असन्तुष्टि जनाए । उनले भने, ‘एकातिर सहकारीलाई मर्जरमा लैजाने भनिएको छ । भएका सहकारीलाइ राम्रा बनाउनु पर्छ । किन मर्जरमा जोड दिनु पर्यो । संख्या घटाउँदैमा राम्रो हुन्छ भन्ने होइन । भएका सहकारीलाइ व्यवस्थित बनाउनु पर्छ ।’

करिब दुइ हजार मानिसहरुले अहिले पनि साना किसान सहकारीहरुले स्थापना गरेको उद्योगहरुमा जागिरको रुपमा काम गरिरहेको उनले जानकारी दिए । आगामी दिनमा यस्तोे संख्या थप बढाउँदै लैजाने योजना हुनुपर्नेमा मर्जर गरेर रोजगारी संकुचन गर्न नहुने उनको धारणा छ ।

रोजगारी सिर्जनका लागि आगामी योजना सुनाउँदै उनले औपचारिक, अनौपचारिक, प्राविधिक शिक्षामा जोड दिनु पर्ने र यसका लागि कृषिमा डिजिटलाइजेसन र पारिवारिक खेती गर्ने किसानहरुको पहिचान र प्रवर्धन गर्न ध्यान दिनु आवश्यक छ । सरकारले सहकारी क्षेत्रमा रोजगारी दिने जुन लक्ष्य लिएको छ यसमा सहकारीले सहयोग गर्नुपर्ने उनको सुझाव छ ।

सम्बन्धित खबर